काठमाडौं, २६ चैत ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधसभाबाटै मंगलबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै फोहोर नगर्न कार्यकर्तालाई सचेत मात्र गराएनन्, जरिवानाको पत्र काट्न पर्खेर बसेको बताए ।
काठमाडौंमा यसअघि प्रदर्शनका क्रममा फेहोर गरेको भन्दै महानगरले राप्रपालाई जरिवाना गरिसकेको छ । त्यसैले मंगलबारको प्रदर्शनमा राप्रपाका अध्यक्षले फोहोर नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
उता बालेनले भने योपटक राप्रपालाई जरिवाना नगर्ने भएका छन् । र धन्यवाद दिएका छन् । राप्रपाले कार्यक्रम सकिएपछि आफैँ फोहोर संकलन गरी सफा गरेको छ । ती तस्वीरसहित स्टाटस लेखी बालेनले राप्रपालाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’