संसारभर हरेक दिन हजारौँको संख्यामा नयाँ फिल्म रिलिज हुन्छन् । युट्युबसँगै ओटीटी प्लेटफर्महरूमा त फिल्मको बाढी नै छ भन्दा अत्युक्ति पनि नहोला । ती लाखौँ फिल्ममध्ये कतिपयले हामीलाई मनोरञ्जन प्रदान गर्छन् भने केहीले उत्प्रेरणा दिन्छन् । यो भीडमा एउटा यस्तो पनि चलचित्र छ जसले मानिस जातिको सहनशीलताको सीमितता कति हो भन्ने कुरामा प्रश्न गर्छ । एकछिनका लागि सास नै रोकिदिने यो फिल्मले जोकोहीलाई पनि कुर्सी समाएर बस्न बाध्य तुल्याउँछ । त्यो फिल्मको नाम हो – मञ्जुम्मेल बोइज । खासमा यो केवल चलचित्र मात्र होइन । यो त एउटा एक गहिरो यात्रा हो । यो त अम्युजमेन्ट पार्कतिर खेलिने रोलरकोस्टर गेम हो जहाँ रमाइलो पनि एकैछिनमा डरमा बदलिन्छ ।
२०२४ फेब्रुअरी २२ मा रिलिज भएको यो मल्यालम भाषाको फिल्मलाई चिदम्बरम एस. पाडुवालले निर्देशन गरेका हुन् । यस चलचित्रको खास कुरा के छ भने यसमा मित्रता, साहसिक यात्रा र बाँच्नका लागि गरिएको संघर्षलाई कुशलतापूर्वक समेटिएको छ । यो फिल्मले दर्शकलाई साँच्चै नै अद्वितीय अनुभव प्रदान गर्छ । यसकारण पनि यो फिल्मले दर्शकका मन र मस्तिष्कमा पछिसम्मै बास पाइरहने सम्भावना देखिन्छ ।
झट्ट हेर्दा अविश्वसनीय लाग्ने तर सत्य घटनामा आधारित यस फिल्मको कथाले दर्शकलाई तमिलनाडुस्थित कुख्यात गुणा केभ (गुफा) मा लैजान्छ । त्यस गुफाको डरलाग्दो गहिराइमा युवाहरूको एउटा समूहले साहस, मित्रता र दृढ संकल्पको परीक्षा सामना गर्न पुग्दछन् ।
यो चलचित्र यसरी सुरु हुन्छ । २००६ मा कोच्चीस्थित दर्शन नामको कला क्लबका युवाहरूको एउटा समूह कोडाइकनाल भन्ने ठाउँका लागि घुम्न निस्किन्छन् । त्यो समूहलाई त्यस समयमा ‘मञ्जुम्मेल ब्वाइज’ भनेर चिनिन्थ्यो । सुरुमा रमाइलो लाग्ने यो यात्राले तपाईंको आङलाई तब मात्रै सिरिङ्ङ गराउन थाल्छ जब उनीहरू गुणा केभ्स जाने निर्णय गर्छन् ।
पूर्वयोजनाअनुसार उनीहरू गोवा जानु पर्ने थियो । तर कारणवश उनीहरूले गुणा केभ्स घुम्न जाने योजना बनाउँछन् । गुणा केभ त्रासले भरिएको निकै नै कुख्यात ठाउँ मानिन्थ्यो । जो कोही त्यस गुफाको नजिक पर्न नै चाहँदैनथे । या भनौं गुफाको नाम सुन्दा मात्रै पनि मान्छे डराउँथे । गुफाको विषयलाई लिएर उनीहरूमा अचम्मको उत्सुकता पलाउँछ र त्यही जिज्ञासाले उनीहरूलाई निषेधित क्षेत्रमा डोर्याउन पुग्छ ।
त्यही क्रममा नसोचेको घटना भइदिन्छ । समूहका सदस्यमध्ये एक सुभाष एक्कासि एउटा खाल्डोमा खस्छन् । त्यो खाडललाई कुनै समय डेभिल्स किचन भनिन्थ्यो । पछि मात्र त्यसको नाम गुणा केभ्स रहन पुगेको हो । सुभाष भन्दा अगाडि पनि त्यस खाडलमा १३ जना मानिस खसेका हुन्छन् । न त उनीहरूको जीवित उद्धार हुन्छ न त उनीहरूको लास नै भेटिन्छ । यही घटनापछि उक्त गुफामा जान मनाही गरिएको हुन्छ ।
आफूहरूको आँखाकै सामुन्ने एउटा साथी गुफाभित्र बेपत्ता भएको दृश्य देख्दा सबै सदस्यहरू स्तब्ध हुन्छन् । आत्तिन्छन् । डराउँछन् । सबैका मनमा अब के गर्ने होला भन्ने प्रश्न खेल्न थाल्छ । त्यहाँ तत्कालै कुनै पनि सहयोग उपलब्ध थिएन । साथीसँग अब सधैंका लागि बिदा लिनुपर्ने हो कि भन्ने डर र चिन्ताले उनीहरूलाई गाँज्न थाल्छ ।
त्यसपछि उनीहरूले प्रहरीसँग पनि सहयोग मागे । तर उनीहरूले सहयोग पाउन सकेनन् । प्रहरीले बरु उल्टो उनीहरूलाई पिट्यो । निषेधित क्षेत्रमा किन पुगेको भनी हप्कायो । अनि साथीलाई खाडलमा धकेलेर हत्याको प्रयास गरी आफूहरू नै प्रहरी रिपोर्ट लेखाउन आयौ भनी आरोप पनि लगायो ।
सुभाषको उद्धारमा प्रहरीले खासै तदारुकता देखाउँदैन । गुफालाई लिएर स्थानीयमा अन्धविश्वास रहेको हुन्छ । जसले गर्दा सुभाषको उद्धार कार्य समयमा सुरु हुन पाउँदैन । समय घर्किँदै गर्दा सुभाषका साथीहरू आफैंले उद्धारको योजना बनाउँछन् । तर परिस्थिति उनीहरूको अनुकुल बनिदिँदैन । सुभाष खोँचमा खसेको केही बेरपछि भारी वर्षा हुन थाल्छ । सुभाष फसेको गुफाभित्र पनि पानी पस्न थाल्छ । त्यस बेला सुभाषका साथीहरूले आफ्नै शरीर प्रयोग गरेर पानीको बहाव रोक्न खोज्छन् । यो दृश्यले जो कोहीको मुटुलाई हल्लाइदिन्छ ।
स्थानीय र प्रहरीहरूले सुभाषलाई बचाउन असम्भव रहेको कुरा गरिरहे । तर मञ्जुम्मेल ब्वाइजले हार मानेनन् । उनीहरूले सुभाषलाई निरन्तर बोलाइरहे । लामो प्रयास पछि उनीहरूको मिहिनेतले रंग ल्याउँछ । गुफाभित्रबाट सुभाषले साथीहरूलाई जवाफ फर्काउँछ । यसपछि सुभाषको सकुशल उद्धार हुने आशा अझै बलियो बन्दै जान्छ ।
सुभाषलाई बचाउनका निम्ति साथी सिजु डेविड (कुट्टन) आफैँ त्यस गुफाभित्र पस्छन् । आफ्नो ज्यान जोखिममै पारेर पनि उनी स्वेच्छाले गहिरो खाल्डोभित्र पस्न तयार हुन्छन् । सिजुले शुभाषलाई घाइते अवस्थामा भेट्छन् । सास फेर्न गाह्रो मानिरहेका उनको शरीरभरि रगत लतपतिएको थियो ।
त्यसपछि अन्य साथीहरूले डोरीका मद्दतले दुवैलाई बाहिर निकाल्छन् ।
खासमा मञ्जुम्मेल ब्वाइज केवल थ्रिलर मात्र होइन । यो मित्रताको बलमा आधारित कथा हो । चलचित्रले मित्रताको अटुट बन्धन र एकअर्काका लागि निःस्वार्थ रूपमा दिइने त्याग र बलिदानको गाथा गाएको छ । शायजु खालिदको सिनेमाटोग्राफीले दर्शकलाई गुफाको अँध्यारो र संकुचित वातावरणमा डुबाउँछ भने सुषिन श्यामको भयावह पश्र्व संगीतले फिल्ममा थप रोमाञ्चकता थपेको छ ।
यो चलचित्रलाई विशेष बनाउने कुरा के पनि हो भने यो सत्य घटनामा आधारित छ । उक्त घटनामा संलग्न व्यक्तिहरू आज पनि नायकका रूपमा चिनिन्छन् । चलचित्रको सुरुवातमा टग अफ वार (डोरी तान्ने खेल) मा देखाइएका पात्रहरू नै वास्तविक मञ्जुम्मेल ब्वाइज हुन् । यसले पनि चलचित्रलाई यथार्थमा आधारित बनाएको छ ।
मनोरञ्जनसँगै यो चलचित्रले मानिसलाई प्रकृतिमा निहित जोखिमका बारेमा पनि सचेत गराउँछ । जोखिमलाई नै मध्यनजर गरी हाल गुणा गुफाको प्रवेशमा थप कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।
चलचित्रले शुभाषको भोगाइलाई पनि यथार्थमा झल्काएको छ । उनले बाँच्न सफल भएको जीवन केवल चमत्कारले सम्भव भएको होइन । एक प्रकारले भन्ने हो भने बलियो मित्रताका कारण नै उनले जीवनदान पाएका हुन् । यो पनि मित्रताको जित हो ।
रियल सुभाष केवल खाल्डोबाट जीवित मात्रै फर्किएनन् । उनले ठूलो शारीरिक र मानसिक पीडा पनि साथै लिएर आउनुपरेको थियो । त्यो घटनाले उहाँको जीवन सधैंको लागि बदलियो ।
सत्य घटनालाई प्रेरणाका रूपमा लिइने यस संसारमा मञ्जुम्मेल ब्वाइज मानवीय दृढताको उत्सव हो । जब हामी कठिनाइमा पर्छाैं तब हाम्रो शक्ति प्रायः मित्रताको न्यानो सम्बन्धभित्र लुकेको हुन्छ भन्ने कुरालाई यस फिल्मले सम्झाइदिएको छ ।