नेपालमा रक्तसञ्चार सेवाको इतिहास वि.सं. २००७ बाट सुरु भएको मानिन्छ । नेपालको सबैभन्दा पहिलो रक्तदाताको रूपमा समाजसेवी दयावीर सिंह कंसाकारलाई लिइँदै आइएको छ । यसअघि नेपालमा रक्तदान तथा रक्तसञ्चारसम्बन्धी कुनै औपचारिक व्यवस्था थिएन । इतिहास हेर्दा तत्कालीन समयमा सैनिक अस्पतालमा रक्तसञ्चारको प्रयोग भएको पाइएको छ । जति बेला रक्तसञ्चार व्यवस्थितरूपमा नभएकोले प्रत्यक्ष व्यक्तिबाट व्यक्तिलाई रक्तसञ्चार गरिन्थ्यो ।
यससँगै वि.सं. २०२० सालमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भयो । स्थापनाको तीन वर्षपछि यसअन्तर्गत पहिलो रक्तसञ्चार केन्द्रको स्थापना भयो । यसले रक्तदान कार्यक्रमलाई औपचारिक र व्यवस्थित बनायो । प्रारम्भमा देशकै ठूलो र पुरानो अस्पताल वीर अस्पतालको हाताभित्र लक्ष्मी ब्लड बैंकको रूपमा पहिलो रगत बैंक सञ्चालनमा ल्याइएको थियो । विस्तारै रक्तसञ्चार केन्द्रले आफ्ना शाखाहरू विस्तार गर्दै गयो ।
हाल देशभरि एक सयभन्दा बढी शाखा सञ्चालन ल्याइएका छन् । विंसं. २०५१ सालमा राष्ट्रिय रक्तसञ्चार सेवा केन्द्रको स्थापना भयो । यसको स्थापनाले रक्तदान कार्यक्रम, रक्त परीक्षण, स्टोर र वितरणलाई व्यवस्थित बनायो ।
नेपाल सरकारले रक्तसञ्चार केन्द्रलाई विशेष आभार प्रकट गर्दै, वि.सं. २०७१ मा राष्ट्रिय रक्तसञ्चार नीति लागू गरेर ब्लड बैंकिङ क्षेत्रलाई व्यवस्थित गरेको छ । जसमा विभिन्न रणनीति र कार्यनीतिहरू अख्तियार गरिएका छन् । यसको मुख्य उद्देश्य कानुनी खाकासहितको राष्ट्रिय कार्यक्रम र पर्याप्त पूर्वाधारसहितको राष्ट्रिय रूपमा समन्वय गरी रक्तसञ्चार सेवाको स्थापना गर्नु रहेको थियो ।
प्रमुख रणनीतिअन्तर्गत रगत आपूर्ति सम्बन्धमा सुरक्षा, गुणस्तर, पर्याप्तता र पहुँचको लागि देशमा राष्ट्रिय रक्त कार्यक्रमको विकास गरिनेछ भन्ने छ । साथै राष्ट्रियरूपमा समन्वय गरी, प्रभावकारी सञ्जालसहितको रक्तसञ्चार सेवा प्रवाह प्रणालीको स्थापना गर्ने र जसको माध्यमबाट ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत रगत र रक्त तत्वहरूको पहुँचमा सुधार आउनेछ भन्ने रहेको छ ।
तत्अनुरुप देशैभरिका सरकारी, निजी तथा गैरसरकारी संस्थाले न्यूनतम मापदण्डको प्रक्रिया पूरा गरेर रक्तसञ्चार सेवा सुरु गर्न पाएका छन् ।
भरतपुर अस्पतालमै ब्लड बैंक
केन्द्रीय अस्पतालको रूपमा सञ्चालित भरतपुर अस्पतालमा वि.सं.२०८१ जेठ १ गतेदेखि रक्तसञ्चार सेवालाई विधिवतरूपमा सञ्चालनमा ल्याइएको छ । देशैभरिका दशभन्दा बढी जिल्लाबाट सेवा लिन आउने यस भरतपुर अस्पतालमा सञ्चालित रक्तसञ्चार सेवाले स्थापना कालदेखि ‘होल ब्लड’ वितरण गर्दै आएरहेको छ । केही दिनभित्रमा रगतजन्य अन्य तत्व पिसिभी, पिआरपी, एफएफपी जस्ता तत्वहरू छुट्याएर सेवा विस्तार गर्न लागेको छ । हालसम्म यस्ता तत्वहरू नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबाट वितरण हुँदै आएको छ ।
राष्ट्रिय रक्तसञ्चार नीतिअन्तर्गत यस अस्पतालले नाफामुखी नभई रक्तसञ्चार युनिटलाई सञ्चालन गर्दै आइरहेको छ । अत्याधुनिक मेसिन (किल्या प्रविधि) बाट रक्त परीक्षणपछि मात्र बिरामीलाई वितरण गर्दै आएको छ । यो प्रविधिबाट रगत परीक्षण गर्दा डोनरमा भएको यौनजन्य सरुवा रोगहरू बिरामीमा सर्ने सम्भावना कम हुन्छ ।
अस्पतालले बिरामीलाई वितरण गरेको रगतमा सरकारको नीतिअनुरूप खर्चको लागतभन्दा कम मूल्यमा वितरण गरेर सेवाभाव प्रकट गर्दै आइरहेको छ । जसका कारण अस्पतालमा आउने गरिब, निमुखा चेपाङदेखि सबै बिरामीलाई सहज बनाएको छ । यस अस्पतालले अन्य रक्तसञ्चार संस्थाभन्दा सस्तो मूल्यमा जम्मा रु छ सयमा रगत वितरण गरिरहेको छ ।
यसको अलावा बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र बसोबास गर्ने विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएकोमा यो सेवा पनि सञ्चालनमा रहेको छ ।
अस्पतालको आफनै सक्रियतामा हरेक सोमबार अस्पतालको आफ्नै हाताभित्र रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । उक्त रक्तदान कार्यक्रममा रक्तदातालाई आउने दिनमा पनि रक्तदान गर्न उत्प्रेरणा मिलोस् र अन्य दातालाई पनि सन्देश पुगोस् भन्ने उद्देश्य लिएर प्रमाणपत्रसहित निःशुल्क खाजा तथा पानीको व्यवस्था गरिँदै आइएको छ ।
यस अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन भएदेखि नै रगतको माग दिन प्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ । भरतपुर अस्पताल रक्तसञ्चार युनिट र प्रादेशिक रक्तसञ्चार कार्यालयको संयुक्त तथ्याङ्क हेर्दा वि.सं.२०८१ फागुन महिनामा करिब एक हजार पोका रगत भरतपुर अस्पतालमा खपत भएको देखिन्छ ।
भरतपुर अस्पताल रक्तसञ्चार युनिट सञ्चालनमा आएदेखि विभिन्न संघसस्थासँग मिलेर समुदायमा प्रत्यक्ष संलग्न भइ कुल नौ सय सत्तरी पोका रगत सङ्कलन र वितरण गरिएको छ । त्यस्तै आन्तरिकरूपमा ‘प्रतिस्थापन दान’ कार्यक्रमबाट ६ सय २८ पोका रगत सङ्कलन गरिएको छ । यस अबधिमा रक्तदान कार्यक्रमबाट नयाँ रक्तदाताको रूपमा छ सय चौँतिस जनाले रगत दान गरेका छन् ।
यसरी यी तथ्याङ्कलाई हेर्ने र सरकारको नीतिअनुरूप ब्लड बैंकलाई अझै व्यवस्थित तथा अस्पतालका बिरामीको पहुँचमा सर्वसुलभ बनाउन केहि गृहकार्य गर्नैपर्ने देखिन्छ ।
१) नयाँ दाता बढाउन सचेतना कार्यकर्म राख्नुपर्छ ।
२) अस्पतालका कर्मचारीहरूलाई रक्तदान गर्न प्रेरित गर्नुपर्छ ।
३) वार्षिक धेरै रक्तदान गर्ने कर्मचारीलाई सम्मानसहित पुरस्कृत गर्नुपर्छ ।
३) रक्तदान कार्यक्रमसँग सम्बन्धित विभिन्न स्वयंसेवी संघसँस्थासँग सहकार्य गर्नुपर्छ ।
४) संघसस्थाहरूको रक्तदाता उत्प्रेरणा र जागरुकतासम्बन्धी कार्यमा क्षमता अभिवृद्धि गर्नुपर्छ ।
५) अस्पतालको आफ्नै हाताभित्र सातामा कम्तीमा २ दिन रक्तदान कार्यक्रम गर्नुपर्छ ।
६) अस्पतालले दिइरहेका गुणस्तरीय सेवाको विषयमा प्रचारप्रसार गर्नुपर्छ ।
७) रक्तसञ्चार सेवामा कार्यरत कर्मचारीहरूलाई नियमित तालिमको व्यवस्था गर्नुपर्छ ।
अन्त्यमा, राष्ट्रिय रक्तसञ्चार नीति–२०७१ ले रक्तदानबाट प्राप्त भएको रगतको उपयुक्त प्रयोगको सुनिश्चितता गर्नुका साथै रक्तदाता, रगत प्राप्तकर्ता र रक्त सेवाका प्रदायकहरूलाई कुनै प्रकारको सम्भावित अप्रिय प्रभाव कम गर्नको लागि संरचना तयार गरी रक्तसञ्चार सेवा प्रवाह गर्नु राष्ट्रिय रक्त कार्यक्रमको जिम्मेवारी हो भनेको छ ।
स्वास्थ्य र सामाजिकरूपमा प्रतिबद्ध व्यक्तिहरूद्वारा स्वेच्छिकरूपमा रक्तदान गरी प्राप्त भएको रगतलाई राष्ट्रिय स्रोतको रूपमा लिइ रगत र रक्ततत्वहरू व्यापारिक दृष्टिकोणबाट नाफा कमाउने उद्देश्यले गरिने प्रयोगलाई बन्देज गरेको छ ।
‘रक्तदान, जीवनदान, महादान’
(लेखक बास्तोला रक्तसञ्चार युनिट, भरतपुर अस्पतालका इन्चार्ज हुनुहुन्छ ।)