चितवन, २१ चैत ।
नेपाल कम्युनिष्ट पार्टी ( बहमुत) का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन् । बिहीबार भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले पश्चागामी र यथास्थितिबादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् ।
गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम अभ्यास भएको बताए ।
‘दुई सय चालिस वर्ष निरंकुश राजतन्त्र चल्यो, जनताले केही पाएनन्, अहिले गणतन्त्र आयो केवल सत्तामा बस्नेलाई मात्र, जनताको जीवनस्तर जहांँको त्यहीँ ।’ उनले भने । व्यवस्था बदलेमात्र जनताको आर्थिक स्तर सुध्रने उनको भनाई थियो । आगामी निर्वाचनमा आफूहरु निवार्चनमा नजाने भन्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका हुनुपर्ने पार्टीको कार्यदिशा रहेको बताए । ‘व्यवस्था बदलेमात्र मानिसको चरित्र सुध्रन्छ, उनले भने, यसले खराब मानिसलाई पनि सही बाटोमा ल्याउंँछ ।’
सभामा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य गुणराज लोहनीले अहिलेको संसदीय व्यवस्था जनताको हितमा नरहेको दोहोर्याए । ‘पश्चगामीवादी र यथास्थिति वादीकै कारण देश खोक्रो भईसक्यो लोहनीले भने, गणतन्त्र आएपछि देशको ऋण १२ खर्बबाट २६ खर्ब पुग्यो ।’ यही व्यवस्थाका कारण २०२८ सालको ऐन परिमार्जन नभएको भन्दै उनले सत्ताधारी , दलाल र भ्रष्टाचारीलाई कारवाही गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए । ‘अहिले यो हाम्रो आवाजको लडाईँ हो, उनले भने, तर बन्दुक विना जनताले मुक्ति पाउने छैनन् । बन्दुक उठाएरै आएका हौँ । फेरी उठाउन पनि तयार छौँ ।’
केन्द्रीय कमिटी विभाग प्रमुख डिबी पाण्डेले अहिले व्यवस्थाले जनतामा कुनै परिवर्तन नभएको भन्दै देशभर जनतालाई जागरण अभियान चलाउन शुरु गरिएको बताए । ‘राजतन्त्र असफल भएको देख्यौं, गणतन्त्र असफल भएको पनि देख्यौं उनले भने, परिवर्तन त भयो, सत्ताधारिको मात्रै तर जनतामा परिवर्तन आएन ।’ वैज्ञानिक समाजवाद मार्फत अग्रगामी सोचले मात्र देशले निकास पाउने उनको भनाई थियो ।
पार्टीले पहिलो चरणको अभियान यही चैत्र १० गतेबाट कञ्चनपुरबाट अभियान शुरु गरेर झापामा गएर समापन हुने उनले जानकारी दिए । त्यसपछि देशका पहाडी मुलुकमा अभियान सञ्चालन गरिने उनले बताए । अबको व्यवस्था भागवण्डा र गठबन्धनको नहुने भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीबाट जानुको विकल्प नभएको उनको भनाई थियो । केन्द्रीय पोलीटव्युरो सदस्य रक्तिमले पहिलो र दोस्रो शक्तिले मुलुकमा परिर्वतन नआएको भन्दै तेस्रो शक्तिको रुपमा नेकपा बहुमत आएको बताए । सभाका अध्यक्ष एवं पार्टीका चितवन जिल्ला सेक्रेटरी राम सेढाईंले जागरणलाई शशक्तिकरण र निरन्तरता दिँदै जाने बताए । ‘अब हामी जिल्लामा किसानको आन्दोलन, सुकुम्बासी समस्या आन्दोलन, मिटर व्याजी, शैक्षिक तथा स्वास्थ्य माफिया र वित्तीय शोषण विरुद्ध निरन्तर संर्घर्ष गछौँ ।’ सेंढाईले भने ।
सहभागी अन्य अतिथि वक्ताहरुले जागरण अभियानलाई सशक्त पार्ने, पूँजीवादी तन्त्र र राजतन्त्रलाई निस्तेज पार्नुपर्ने र वैज्ञानिक समाजवादीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।