भरतपुर, १८ चैत ।
विदेशको मोह त्यागेर नेपालमै व्यवसाय सुरु गरेका भरतपुरका दिनानाथ ढुङ्गानाको दैनिकी अहिले अस्पतालको शय्यामा रहेका दाइको सेवामा बित्न थालेको छ । मेडिकल क्षेत्रको जागिरलाई छोडेर उनले दाइलाई साथ दिन होटल व्यवसायमा हात हालेका थिए । तर, उनका दाइ कालिदास ढुङ्गाना दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनका योजना एकाएक रोकिए । आजकल दिनानाथ आफ्नो व्यवसाय कर्मचारीको भरोसामा चलाउँदै दाइ कालिदासको उपचार र स्याहारमा व्यस्त रहन्छन् ।
दाइको दुर्घटना र त्यसपछि आएको कठिनाइ
४ वर्षअघि दिनानाथ र उनका दाइले स्वदेशमै काम गरेर स्वरोजगार सिर्जना गर्ने लक्ष्यका साथ होटल व्यवसायमा हात हालेका थिए । तर गत वर्ष २०८० पुस १० गते भएको दुर्घटनाले यी दाजुभाइको लक्ष्यमा ठूलो ब्रेक लगाइदियो । चितवनको रामनगर र आँपटारी बिचको जंगलमा भारतीय नम्बर प्लेटको बोलेरोले ठक्कर दिँदा उनका दाइ कालिदास ढुङ्गाना गम्भीर घाइते भएका थिए । ९४ दिनसम्म चितवन मेडिकल कलेजमा उपचार गरियो । टाउकोमा तीनवटा अप्रेसन भए । तर कालिदासको होस आएन । विगत १ वर्षदेखि अचेत अवस्थामा नै उनको चितवन फिजियोथेरापी सेन्टरमा उपचार भइरहेको छ । कालिदासको होस आउने झिनो आशामा ढुङ्गाना परिवार भगवानलाई पुकार्दै बाँचिरहेको छ ।
व्यवसायमा आएको संकट
कालिदासको दुर्घटनाले परिवारका सबै सदस्यहरु शारीरिक र मानसिक कष्ट भोगिरहेका छन् । दिनानाथ भन्छन्, `मैले विदेश जानु भन्दा नेपालमै केही गरौँ भन्ने सोचेर यो व्यवसाय खोलेको थिएँ । तर दाजुको दुर्घटना र त्यसपछिको अवस्थाले नराम्ररी पिरोलेको छ । ४० लाख लगानी गरेर होटल खोलियो । एउटा बन्द गर्नुपर्यो भने अर्को होटल स्टाफको भरमा चलिरहेको छ । दाइको उपचारका लागि मासिक १ लाख ५० हजार रुपैयाँ खर्च हुने भएकोले आर्थिक सङ्कट गहिरिँदै गइरहेको छ । दाइ कहिले उठ्ला र भाइ भनेर बोलाउला झैँ लाग्छ । दिनभरी उसलाई मुसार्छु त मेरा इच्छा पूरा हुँदैनन् । यो क्रम चलेको पनि १५ महिना भइसक्यो ।´
परिवारको दुख : बुवा र आमाको स्वास्थ्य समस्याहरू
दिनानाथका बुवा र आमा पनि मानसिक तनावका कारण डिप्रेसनमा गइसकेका छन् । बुवा दिउँसो एक्लै रुँदै हिँड्न थालेका छन् भने आमा उच्च रक्तचापबाट ग्रस्त छिन् । `चिन्ता र पीरले बुवा आमालाई पनि रोगी बनाइरहेको छ´, दिनानाथ भन्छन् ।
भाउजुको सरुवा प्रयास
दिनानाथको भाउजु बाग्लुङको बडिगाड गाउँपालिका स्थित श्री सिद्धमावि खहरे दरलिङमा पढाउँछिन् । उनलाई पनि प्रशासनिक समस्याहरूको कारण यहाँ आउने अवसर मिलेको छैन । भाउजुको सरुवाका लागि दिनानाथले मन्त्रालय र विभागमा गरेका सबै प्रयासहरू असफल भए । `धेरैपटक धेरै मन्त्रीदेखि सचिव विभागगीय प्रमुखदेखि अधिकृतसम्म अनुनय विनय गरे उनले भने, तर कसैले हाम्रो परिवारको मर्मलाई बुझिदिएनन् ।´ यदि भाउजु यहाँ हुनुहुन्थ्यो भने म काम गर्न पाउँथेँ, थोरै भएपनि पैसा जुटाउन सकिन्थ्यो´, उनले भने – `अहिले दाजुको स्याहार गर्ने मानिस छैन । भाउजु चाहेर पनि आउन सक्ने अवस्थामा हुनुहुन्न ।´
आर्थिक सङ्कट र थप सहयोगको आवश्यकता
दिनानाथ परिवारले आफ्नै स्रोतबाट उपचारको लागि रकम जुटाउन सङ्घर्ष गर्दै आएको छ, तर अहिले थप सहयोगको आवश्यकता परेको छ । कालिदासको उपचारका लागि अझै ठूलो रकम आवश्यक छ । `मेरो दैनिकी अहिले दाइको स्याहारसुसारमा बित्ने गरेको छ´, उनले भने – `अब सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गरेका छौँ । हामीलाई पनि सहयोग गरि दाजुको जीवन बचाइदिनुहोला । बृद्ध हुनुभएको बुवाआमा पनि दाइकै सेवामा खटिनुुहुन्छ । पहाडमा पाखोबारी मात्र छ । यहाँ आई दुख गरेर जोडेको सम्पत्ति सकियो । उपचारमा ५०, ६० लाख खर्च भइसक्यो, ठक्कर दिने बोलेरोले आधा पैसा त तिर्यो तर बाँकी सबै हामी आफैँले व्यहोरिरहेका छौँ । नेपालमै केही गरौँला भनेर खोलेको एउटा होटल दुर्घटनाकै कारण बन्द गर्नुपर्यो । सास रहुन्जेल आस लाग्दो रहेछ । दाइ अझै अचेत अवस्थामा हुनुहुन्छ ।´
कालिदासलाई अहिले उठाउन दुई जना लाग्छ । पाइपबाट खाना खुवाउने गरिएको छ । चौविसै घन्टा डाइपर लगाएर राखिन्छ । लामो प्रयास पछि आँखा खोलेका छन् तर चेत छैन । दिनानाथले आफुहरुको आर्थिक अवस्था मजबुद नभएका कारण आर्थिक संकट गहिरिँदै गएको बताए । उनले भने – `मैले विदेश जानु भन्दा नेपालमै केही गरौँ भन्ने सोचेरै यो व्यवसाय खोलेको थिएँ तर दुर्घटनाले जीवन नै मोडियो ।´
सहयोगको आह्वान
`हामी २०६८ सालमा बाग्लुङबाट बसाई सरेर भविश्य बनाउन चितवन झरेका हौँ, यहाँ आएर म मेडिकल फिल्डमा काम गरे । पछि दाइले आफ्नै व्यवसाय गरौँ भाइ भनेपछि अस्पतालमा खाइरहेको जागिर छोडेर आफ्नै व्यवसाय शुरु गरेका थियौँ । यस होटलमा ४० लाख भन्दा बढीको लगानी छ । अब मेरो चाहना भनेको भविष्यमा फेरि एकपटक खडा हुन र आफ्ना लक्ष्य पूरा गर्नु हो । तर त्यसअघि दाजुको उपचार सक्नु छ ।´
दिनानाथ ढुङ्गगानाको सङ्घर्ष र परिवारको समस्याले सबैको मन छुँदै गरेको छ । कुनै पनि प्रकारको सहयोग र समर्थनले उनीहरूको जीवनलाई अझै आशा र साहस दिन सक्छ ।
यदि तपाईं सहयोग गर्न चाहनुहुन्छ भने दिनानाथ ढुङ्गानाको परिवारले बैंक खातामा रकम जम्मा गर्नको लागि निम्न खाता नम्बर उपलब्ध गराएको छ :
विमला पौडेल (श्रीमती)
लुम्बिनी विकास बैंक
खाता नम्बरः ०२९१११२००७७६३५०००००१