भरतपुर, १७ चैत ।
प्हच्यु तमू परिवार नेपालको चितवन तथा नवलपुर जिल्ला अध्यक्षमा डोलबहादुर गुरूङ चयन भएका छन् । आइतबार भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा आयोजित प्रथम साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व गठन गरेको हो । आगामी तीन वर्षे कार्यकालको लागि गठित समितिको उपाध्यक्षमा ओमराज गुरूङ र सीतादेवी गुरूङ, सचिवमा रामबहादुर गुरूङ, सङ्गठन सचिवमा विजय गुरूङ, सहसचिवमा वीरबहादुर गुरूङ, कोषाध्यक्षमा गणेशकुमार गुरूङ र सहकोषाध्यक्षमा लक्ष्मी गुरूङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा भने विजयकुमार गुरूङ, बलबहादुर गुरूङ, जयबहादुर गुरूङ, सुकबहादुर गुरूङ, सावित्रा गुरूङ, मीना गुरूङ, राशी गुरूङ, सुष्मा गुरूङ, सन्तु गुरूङ, चक्रबहादुर गुरूङ र रेशम गुरूङ चयन भएका छन् । प्हच्यु तमू परिवारका केन्द्रीय कार्यवहाक अध्यक्ष निम गुरूङको उपस्थितिमा अधिवेशन सम्पन्न गरेको हो ।
उनले देशभरका प्हच्यु (गुरूङ)हरुको विगतदेखि वर्तमानसम्मको इतिहास केलाउनको लागि संस्थाको स्थापना भएको बताए । आधुनिक विकास क्रमसँगै पुर्खा एकै ठाउँमा भए पनि हाल छरिएर रहेको हुँदा उनीहरुलाई आफ्नो भाइखलकसँग भेट गराउनको लागि पनि संस्थाको स्थापना भएको उनको भनाइ छ । २०७० सालमा पोखरामा स्थापना भएपछि हाल चितवन–नवलपुरसहित कास्की, लम्जुङ, तनहुँ, काठमाडौँलगायतका जिल्लामा शाखा विस्तार भइसकेको जानकारी गराए ।
‘हामी प्हच्यु तमूहरुले आफ्नो इतिहास बिर्सन हुँदैन,’ उनले भने, ‘त्योभन्दा पनि महत्त्वपूर्ण काम भनेको हामीले हाम्रो वंशावली तयार गर्नुपर्ने छ । किनकि त्यसले भोलिको पुस्तालाई पनि राम्रो टेवा पुग्ने छ ।’
तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले प्हच्यु तमूहरुले आफ्नो खलक खोज्नको लागि संस्थाको स्थापना गरेर नमुना काम गरेको प्रतिकृया दिए । यस्ता कार्यक्रमबाट अपरिचित व्यक्तिहरुबीच भेटघाटमात्र नभई साइनो, सम्बन्धबारे पनि थप ज्ञान प्राप्त गर्न सकिने उनले बताए । उनले प्ये ल्हु संघको योजनाअनुसार संस्थाको आफ्नै जग्गा र आवश्यक संरचना निर्माणको लागि अर्थ सङ्कलनको अभियान थालेको समेत जानकारी गराए ।
प्हच्यु समुदायका अगुवा एवम् ज्येष्ठ नागरिक रामकृष्ण गुरूङले कुनै पनि व्यक्ति सामाजिक संस्थामा लाग्दा राजनैतिक नजरले हेर्न नहुने सुझाव दिए । उनले प्हच्यु थर भएका गुरूङहरुको खोजी गरी संस्थामा आवद्ध गराउन आवश्यक रहेको बताए ।
नेपाल तमू विद्यार्थी छोँज धीँका केन्द्रीय अध्यक्ष पवन गुरूङले भने प्हच्यु थर भएका गुरूङहरुको भेलाले आपसमा भाइखलक चिन्ने काम गरेको बताए । प्हच्यु गुरूङ जातिभित्र रहेका विभिन्न थरहरुमध्ये एउटा थर हो । प्हच्यु थर भएका सबैले पुरेहितको काम नगरे पनि पुरेहित पेसासँग जोडिएको थर हो ।