मकवानपुर, १७ चैत ।
बागमती प्रदेशकाे राजधानी हेटौंडादेखि चितवनकाे सौराहासम्म साइकल यात्रा हुने भएकाे छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयकाे सहयोगमा साईकल सिटी हेटौंडाकाे आयोजनामा साइकल यात्रा हुने भएकाे हाे ।
आगामी २०८२ साल वैशाख १२ गते आयोजना हुने साइकल यात्रामा ४३ जिल्लाका करिब ५ सय जनाकाे सहभागिता रहने आयोजकले जनाएकाे छ । हेटौंडाबाट सौराहासम्म ७५ किमिकाे यात्रा रहने छ । वैशाख ११ गते बाहिरी जिल्लाबाट आउनेलाई हेटौंडामा स्वागत गरिने तथा १२ गते बिहान भुटनदेवी मन्दिर दर्शनसँगै यात्रा सुरु हुने छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन मुख्य उदेश्य रहेकाे यात्राका साइकल यात्रीलाई हेटौंडाकाे थानाभर्याङ नवलपुर लेवट बस्तिपुरमा स्वागत गरिने गरी कार्यक्रम तय भएकाे छ । यस्तै वडा नम्बर १९ को कार्यालयबाट बिगडाँडामा माेहीले स्वागत गर्ने भएकाे छ । यसैगरी मनहरी गाउँपालिकाकाे रजैयास्थित अग्निहोत्र आश्रम, चितवनकाे भण्डारा बजार, पर्सा खैरहनी बजार र रत्ननगर नगपालिकाले स्वागत गर्ने छ ।
चितवनकाे सौराहा प्रवेशसँगै सौराहा रेष्टुरेन्ट व्यवसायी तथा होटल व्यवसायी संघले स्वागत गर्ने कार्यक्रम तालिका रहेकाे आयोजकले जनाएकाे छ । यात्रीहरुलाई सौराहाकाे होटल सेभेन स्टारमा विविध साँस्कृतिक कार्यक्रम समेत देखाइने भएकाे छ । वैशाख १३ गते जंगल सफारी गरेसँगै कार्यक्रम समापन हुने छ ।