लुम्बिनी, १६ चैत ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजाले चाहँदैमा गणतन्त्रको अन्त्य सम्भव नभएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाली लेखक सङ्घको आठौं राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले राजा फर्काउने नाममा अराजक गतिविधि फैलिएको बताए । उनलेे बदलिँदो परिवेशमा लेखकहरू अझै जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । हिजोको अराजकता तपाईं हामी सबैले देख्यौँ, राजा नहुँदा त उनले यस्तो हर्कत गरेका छन् । राजा भएको भए के गर्थे होलान्´, देउवाले भने -
`हिजो भएको आन्दोलन एकदमै हिंसात्मक थियो । त्यो आन्दोलनको प्रकृति हेर्दा ज्ञानेन्द्रमा संवैधानिक राजा हुने कुनै क्षमता नै देखिएन । उनी निरंकुश छन्,’ उनले भने, ‘उनी अराजक भएको हिजोको आन्दोलनले देखाइसक्यो ।’
अहिलेको समय गणतन्त्रकै भएकाले व्यवस्था उल्टिन्छ कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । देउवाले यतिबेला सबैले संयमता अपनाउन आवश्यक रहेको धारणा राखे । गणतन्त्रलाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्ने पनि देउवाले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा लेखकहरूले आफ्ना सिर्जनाका माध्यमबाट दलहरूलाई समेत मार्गनिर्देशन गर्नुपर्ने देउवाको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता बिना लेखकीय अधिकार सुनिश्चित हुन नसक्ने बताए ।
जनतामा सिर्जना गरिएका गलत भाष्यलाई चिर्न लेखकहरूको सिर्जनात्मक क्षमताको प्रयोग गर्ने महतले विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा अध्यक्ष तीर्थ श्रेष्ठले नेपाली लेखक सङ्घ अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने भन्दै काठमाडौंमा भएको घटनामा सञ्चारकर्मीलाई जलाएर हत्या गरिएको घटनाको निन्दा गरे । उनलेे विचार अभिव्यक्तिका नाममा उत्तेजक र हिंसा भड्काउने खालका अभिव्यक्तिको सङ्घले सधैँ बिरोध गर्ने पनि बताए ।
शनिबारदेखि सुरु भएको प्रजातान्त्रिक लेखकहरूको संस्था नेपाली लेखक सङ्घको आठौं अधिवेशन आइतबारसम्म चल्नेछ । अधिवेशनका लागि मुलुकभरका झन्डै ४ सय प्रतिनिधि लुम्बिनी पुगेका छन् ।