मकवानपुर, १३ चैत ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकाे विरोधमा हेटौंडामा प्रदर्शन गरिएकाे छ । नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल मकवानपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
मंगलबार साँझ वाईसीएलका युवा तथा कुलमान समर्थकहरूले टुकी बत्तीसहित जुलुस निकालेर सरकारको विरोध जनाए । विरोधसँगै उनीहरूले सरकारविरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए ।
पुत्ला जलाउँदा रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच घम्साघम्सी समेत भएको थियो । त्यस क्रममा प्रहरी निरीक्षक विमला कठायत घाइते भएकी छिन् । हेटौंडाकाे ख्वपःगल्ली स्थित तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बन्यो ।