भरतपुर, १२ चैत ।
भरतपुर महानगरमा चैत ४ गतेदेखि सुरु भएको आधारभूत तहको परीक्षा (बिएलइ) मंगलबार सकिएको छ । सोही क्रममा भरतपुर- ४ स्थित सनराइज स्कुलले आफ्नो केन्द्रबाट बिएलइ दिएका सबै विद्यार्थीलाई `मुना´ बालपत्रिका उपलब्ध गराएको छ ।
सनराइज स्कुलमा अङ्कुरम् एकेडेमी, अर्बिट स्कुल, विद्याविकास स्कुल, आदर्श पब्लिक स्कुल र ग्लोरियस एकेडेमी गरी ५ वटा विद्यालयको केन्द्र परेको थियो । `हाम्रो विद्यालयमा आएर आधारभूत तहको परीक्षा दिएका सबै २७२ जना विद्यार्थीलाई बालपत्रिका मुना उपलब्ध गराएका हौँ´, विद्यालयका सहप्रधानाध्यापक भूमिराज तिवारीले भन्नुभयो – `विद्यार्थीहरूले आजै परीक्षा सकेर घर जाँदै हुनुहुन्छ । अर्को कक्षामा पुग्नु अगाडिको खाली समयलाई सदुपयोग गराउन हामीले पढ्ने सामग्री दिएका हौँ । हाम्रो तर्फबाट यो मायाको चिनो पनि हो ।´ सहप्रधानाध्यापक तिवारीले विद्यार्थीलाई अगाडि बढ्न अतिरिक्त ज्ञानको पनि अनिवार्य आवश्यकता रहेको बताउनु भयो । `हामीले विद्यार्थीलाई अतिरिक्त ज्ञानका लागि पनि सहजीकरण गर्छौँ । अतिरिक्त पुस्तक पठन, खेलकुद, नृत्य, संगीत, व्यावहारिक सिकाइको विद्यार्थीलाई सधैँभरी आवश्यकता रहन्छ´, तिवारीले भन्नुभयो – `हाम्रो विद्यालयमा परीक्षा दिन आएका विद्यार्थी पनि हाम्रा बाबुनानी जस्तै हुन् । उनीहरूलाई सिकाइका लागि प्रेरित गर्नु हाम्रो कर्तव्य हो ।´
त्यसैगरी विद्यालयका प्रधानाध्यापक शिव बगालेले पठन संस्कृतिको अभियान अन्तर्गत विद्यार्थीलाई मुना दिइएको बताउनु भयो । खाली समयमा मुनालगायतका पुस्तक तथा पत्रपत्रिका पढेर सिर्जनात्मक बन्न प्रधानाध्यापक बगालेले आग्रह गर्नुभयो ।