काठमाडौं, ११ चैत ।
निबन्ध लेखक श्रीओम श्रेष्ठ’रोदन’द्वारा लिखित व्यक्ति निबन्धसङ्ग्रह “अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक भएको छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा भएको एक कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान, निबन्धकार ‘रोदन’लगायतले उक्त निबन्धसङ्ग्रह सार्वजनिक गरे ।
उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा. गौतमले भने- ‘पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो दुस्साहस श्रीओम श्रेष्ठ रोदनले गरेका छन् । अभिवन्द्य मान्छे पढेर निस्केको निबन्ध कृति हो । भन्न सकिन्छ नयाँ शैलीको लगभग श्रेष्ठले आविस्कार गरेका छन् ।’ क्रियाविना वाक्यको प्रयोगले पनि निबन्ध राम्रा छन् भन्दै उनले नेपाली निबन्ध साहित्यमा यो शैलीको विकास अभिवन्द्यले प्रयोग गरेको बताए । रोदनले धेरै स्रष्टाहरूको अनुद्घाटित तथ्यलाई निबन्धमार्फत बाहिर ल्याएको पनि प्रा.डा.गौतमले बताए ।
शुभकामना मन्तब्य दिँदै समालोचक प्रधानले सरल भाषाशैलीमा मीठो ढङ्गले आएका निबन्धहरूले सबै पाठकको माया पाउने बताए । उनले आफ्नो बारेमा पनि उक्त कृतिमा एउटा निबन्ध परेको बताउँदै सोही कृति सार्वजनिक गर्न पाउनु सुखद भएको भन्दै सफलताको निम्ति शुभकामना दिए ।
अभिवन्द्यका स्रष्टा श्रीओम श्रेष्ठ’रोदन’ले कृतिको रचनागर्भको बारेमा जानकारी दिए । उनले भने-‘भोलि के हुन्छ भनेर भन्न सक्दिन। शालिक र स्मृतिग्रन्थप्रति उति साह्रो विश्वास पनि छैन । त्यसैले जिउँदै सम्मान गर्ने र सम्मानग्रन्थ निकाल्नु पर्दछ ।’आफूले आजसम्म सङ्गत गरेका मान्छे खराब नभएको चर्चा गर्दै उनले जीवनमा आफ्नो कमाई भनेकै साथीभाइ भएको बताए ।
राममणि रिसालको निबन्ध पढेर त्यसको उत्प्रेरणाले निबन्ध लेखनमा लागेको बताउँदै उनले लेखनीमा तेजेश्वर बावु ग्वँगको केही प्रभाव परेको बताए ।
अर्का वक्ता समीक्षक प्रदीप सापकोटाले विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सामिप्यता, उठबस, भोगाइ, सरसङ्गत, सहकार्य, यात्रा र उनीहरूका योगदानलाई निजात्मक अनुभूतिको चास्नीमा मज्जैले घोलेर लेखिएका व्यक्ति निबन्धहरू पठनीय भएको बताए । उनले भने- ‘निबन्ध काव्यात्मक जस्तो मीठासपूर्ण छ । सत्कर्म गर्नेहरू प्रति कृतिले वन्दना गरेको छ । सरल भाषाले निबन्धको प्राण भरेको छ ।’ अभिवन्द्यले परम्परावादी निबन्धकारिता तोडेको पनि उनले बताए । निबन्धले आफु मज्जैले तानिएको बताउँदै उनले निबन्धसंग्रह जानकारीमूलक पनि रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाको बारेमा जानकारी दिँदै केही गरौँ भन्ने भावनाले प्रतिष्ठानको स्थापना गरिएको बताए । प्रतिष्ठानका कोषाध्यक्ष तारा केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कवि एवं वरिष्ठ सञ्चारकर्मी ठाकुर बेलवासेले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सदस्य पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङकृत’ले धन्यवाद ज्ञापन गरेका थिए ।