भरतपुर, १० चैत ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. गोविन्द कँडेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१ बाट सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को नवौँ वार्षिकोत्सवका अवसरमा डा. कँडेललाई उक्त सम्मान प्रदान गरिएको हो । शनिबार आयोजित कार्यक्रमा डा. कँडेलले पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार ग्रहण गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी कँडेल २०७७ पुस ९ देखि भरतपुर अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको रूपमा कार्यरत छन् । उनले २०७८ माघ ३ देखि २०८० पुस २६ सम्म भरतपुर अस्पतालको प्रवक्ता समेत रहेर काम गरिसकेको छन् । २०६३ सालमा तनहुँस्थित बन्दीपुर अस्पतालमा मेडिकल अधिकृत रही स्वास्थ्य सेवामा प्रवेश गरेका उनले झापाको मेची अञ्चल अस्पतालमा २०७३ देखि २०७७ सम्म कन्सल्टेन्ट फिजिसियनको जिम्मेवारी सम्हाले । करिब दुई दशक लामो सेवा अवधिमा उनले भरतपुरस्थित चितवन मेडिकल कलेजमा मेडिकल अधिकृत र सहायक प्राध्यापकको रूपमा पनि काम गरिसकेका छन् ।
स्वास्थ्य दर्पण मिडियाको वार्षिकोत्सवका अवसरमा स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । देशका ७ प्रदेशमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकारसहित अमेरिका र युरोपमा पनि काम गरिरहेका चिकित्सकसहित २४ जनालाई सम्मान गरिएको हो ।
स्वास्थ्य दर्पण मिडियाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी तथा पत्रकारहरूलाई सम्मान गर्दै आएको छ ।