हेटौँडा, १० चैत ।
राष्ट्रिय मानवअधिकार आयोग र फ्रिडम फोरमको आयोजनामा आइतबार हेटौँडामा ‘अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी प्रादेशिक संयन्त्र : अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती र मधेश प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार, मानवअधिकारकर्मी, कानुन व्यवसायी र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाबारे बोलेका थिए । उनले लोकतान्त्रिक राज्यमा मानवअधिकारको उच्च सम्मान हुने बताउँदै राष्ट्रिय सुरक्षा, मानवअधिकार र व्यक्तिको प्रतिष्ठा अभिव्यक्ति स्वतन्त्रताका वैध सीमा भएको जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेशका सचिव पवनकुमार भट्ट, राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारी, फ्रिडम फोरमकी नानीमैया खड्कालगायतले अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी प्रस्तुति दिएका थिए । कार्यक्रममा सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौँडाका रजिष्ट्रार रेवती सापकोटाले पत्रकार सुरक्षाबारे आफ्ना अनुभव सुनाएका थिए ।