गोरखा, ९ चैत ।
भच्चेक आधारभूत अस्पतालमा आयोजित निःशुल्क आँखा शिविरमा १९५ महिलासहित ३३० जनाले आँखा जाँच गराएका छन् । परीक्षण गरिएकामध्ये ६४ जनाको आँखा शल्यक्रिया गरिएको आँखा शिविरका संयोजक एवं मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिए । अजिरकोट र आसपासका स्थानीयलक्षित कार्यक्रम आयोजना गरिएको उनले बताए ।
लक्ष्यअनुसार अजिरकोट गाउँपालिकासँगै सिरानचोक गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिकाका स्थानीयले समेत सुविधा लिएका उनले बताए । ‘आँखामा समस्या देखिएका बिरामीका लागि पनि यहीँ शल्यक्रिया गर्ने गरी गरिएको शिविरमा शल्यक्रियापछि बस्न, खाना र चस्माको व्यवस्थासमेत निःशुल्क गरेका छौँ’, उनले भने, ‘आँखा उपचारका लागि चितवन, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि शिविर सञ्चालन गरेका हौँ ।’
मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको प्रायोजन तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो । यी संघसंस्थाले स्थानीय तहसँगको सहकार्यमा बेला–बेला स्वास्थ्यसँग सम्बन्धित विभिन्न खालका कार्यक्रम निःशुल्करुपमा सञ्चालन गर्दै आइरहेको छ । यही क्रममा यसपटक आँखा उपचारलाई केन्द्रमा राखेर निःशुल्क आँखा शिविर सञ्चालन गरिएको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए ।
भच्चेकमा अजिरकोट आँखा उपचार केन्द्र छ । तर, उक्त केन्द्रमा आँखा जाँच गरेर चस्मा र औषधि दिने सुविधा भए पनि मोतियाविन्दु भएका बिरामीका लागि शल्यक्रियाको व्यवस्था छैन । त्यसकारण यसरी सञ्चालन भएको शिविरबाट दुरदराजमा रहेका जनताले राम्रो मौका पाएका उनले बताए ।
शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यको समूह अजिरकोट आएको थियो । डा. शाक्यले बजारी क्षेत्रबाट अल्लि भित्र रहेको भच्चेकमा आँखा शिविर सञ्चालन गरेर राम्रो काम गरेको बताए । ‘यसपटक कामकै सिलसिलामा भए पनि भच्चेक आउने मौका पाइयो । नयाँ ठाउँमा आएर काम गर्न पाउँदा छुट्टै आनन्द महसुस भयो’, उनले भने, ‘विकटमा रहेका स्थानीयले सुविधा पाउँदा हामीले पनि नयाँ ठाउँ घुम्ने र चिन्ने मौका पायौँ ।’
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले पालिकावासीका लागि सरकारी संस्थालाई गैरसरकारी संस्थाको सहयोग निकै फलदायी हुने प्रतिक्रिया दिए । गाउँमा आवश्यकताको आधारमा विभिन्न खालका कार्यक्रम आयोजना गर्दै जाने क्रममा यसपटक आँखा शिविर सञ्चालन गर्न सफल भएको उनले बताए । प्राविधिक तथा व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग रहेको भन्दै सहयोगी संस्थाहरुलाई उनले गाउँपालिकाका तर्फबाट धन्यवाद दिए ।
‘समग्र गाउँवासीलाई फाइदा हुने काममा जुनसुकै संघसंस्थासँग पनि मिलेर काम गर्न हामी तयार छौँ’, उनले भने, ‘आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोग हाम्रा लागि आवश्यक हुन सक्छ । त्यस्तो बेला पक्कै पनि सहयोग पाउने अपेक्षा गरेको छु ।’ शिविरपछि कार्यक्रममा सहभागी संस्था तथा स्वास्थ्यकर्मीलाई गाउँपालिकाको तर्फबाट सम्मानसमेत गरिएको थियो ।