भरतपुर, ९ चैत ।
`गजलसँग´ कार्यक्रमको १० औँ शृङ्खलामा गुल्मीका प्राञ्जल, मकवानपुरका सागर तिमल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकी सरला जोशीले गजल सुनाएका छन् ।
गजल मञ्च चितवनले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा स्रस्टाले ५/५ वटा गजल प्रस्तुत गरेका हुन् । कार्यक्रमको शुरुआतमा जाजरकोटका प्रकाश किरण प्रस्तुत भए ।
रङ्गरोगन नभएको कहिल्यै मर्मत नभएको
म त्यही घर हुँ आँगन नभएको छत नभएको ।।
तिमी छौ जुनकीरी एक निराकार खोजी हिँड्ने
एक प्रकाश छ अँध्यारोसँग सङ्गत नभएको ।।
कार्यक्रममा प्रकाशले शृङ्गार रसमा लेखिएका प्रेम र बिछोडका मात्रै गजल सुनाएनन्, उनले समसामयिक सन्दर्भलाई व्यङ्ग्य गर्दै पनि केही सेर समेटेका थिए । प्रकाश नेपाल सरकारका नायब सुब्बा हुन् ।
त्यसपछि गुल्मीका प्राञ्जलले गजल सुनाए । उनी अहिले पोखरामा बसेर साहित्य सिर्जना गरिरहेका छन् । नेपाली लेखक सङ्घ कास्कीका सचिव हुन् प्राञ्जल । उनले पनि गजलमार्फत प्रिय मान्छेलाई मायालु भावले स्पर्श गरिरहे ।
मुटुमा थियौ, तोडेर गयौ बिर्सन कहाँ सकिन्छ
यादहरू हुन् आइरहन्छन् तर्कन कहाँ सकिन्छ ।।
तेस्रो स्रस्टाका रूपमा चितवनकी सरला जोशी प्रस्तुत भइन् । जोशीका गजलका सेरमा पनि प्रणयका भाव छताछुल्ल थिए । समसामयिक गजल पनि जोशीले सुनाइन् ।
प्यार दर्शाउनु पर्छ धड्कनलाई पनि प्रेम सुनाउनु पर्छ
नयनको नशा पिलाई गहिरो प्रेममा डुबाउनु पर्छ ।।
कार्यक्रममा पलेटीमा लहरै बसेर स्रस्टाले गजल प्रस्तुत गरिरहेका थिए । कुनामा थिए मकवानपुरका सागर तिमल्सिना । सागर पछिल्लो एकै वर्षमा तेस्रोपटक गजल सुनाउन चितवन आएका थिए । चितवनको सर्कलमा राम्रोसँग परिचित भैसकेका सागरले गजलका शेर यसरी बगाए :
कसैले नचिनेको मान्छे, आज खुङ्खार भएको छ
गुनगुनाउँदै हिँड्छ सागर, गजलकार भएको छ ।
आफ्नै श्रीमती पनि बिरानो लाग्न थाले छ ।
अचेल उनीभन्दा गजलसँग बडो प्यार भएको छ ।।
सागरले हारमोनियम बजाउँदै गुनगुनाएका थिए । सागरलाई सबैले चुपचाप सुनिरहेका देखिन्थे । उनी मुक्तक मञ्च मकवानपुरका अध्यक्ष हुन् भने पेशाले शिक्षक पनि हुन् ।
गजल मञ्च चितवनको स्थापना २०६३ सालमा भएको हो । स्थापनाका क्रममा तदर्थ समितिका संयोजक धनराज गिरी हुन् भने किसान प्रेमी, गोर्खे साइँलो, पुष्प अधिकारी अञ्जली, प्रभाकर पण्डित, रमेश प्रभात, स्व. द्वारिका नेपाल हुँदै लेखराम सापकोटाले यस संस्थाको नेतृत्व लिइसकेका छन् । संस्थाले गजलसँग, गजल साँझ, एकल गजल वाचन, विशेष गजल वाचन, टिकटमा गजललगायतका कार्यक्रम गर्दै आइरहेको छ । नेपाली गजलको श्रीवृद्धिका लागि देशभरका गजलकारलाई समेट्दै संस्था सक्रियताका साथ लागिरहेको अध्यक्ष रामकृष्ण अनायासले बताए ।
कार्यक्रममा उपाध्यक्ष कमल अर्यालले स्वागत मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष लेखराम सापकोटाले पाहुना गजलकारको चिनारी प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सचिव प्रमिला सानुले सहजीकरण गरेकी थिइन् ।