चितवन, ९ चैत ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको शुक्रबार छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत-साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिइएको थियो । अनुगमनपछि मन्त्री किरण थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भएपनी सेवा दिइरहेको बताए । उनले भने, “हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौँ । प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं ।” साथै, स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्ने, आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।
उनले डाक्टर तथा स्वास्थ्यकर्मीले एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिँदै अस्पताल व्यवस्थापनलाई यसमा थप ध्यान दिन आग्रह गरे । मन्त्री थापाले अनुगमनलाई नियमित बनाउने र सेवा बिस्तारलाई आवश्यक अध्ययनपछि मात्रै अघि बढाउने बताए ।
बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीको चाप बढी रहेको भन्दै मन्त्री थापाले सेवाको गुणस्तर कम हुन नदिने प्रतिबद्धता जनाए । अस्पताल व्यवस्थापनलाई बिरामीहरूको सुविधाका लागि प्रभावकारी योजना बनाउन निर्देशन दिए ।
मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले अस्पतालको सेवामा केही सुधार देखिएको भन्दै सन्तोष व्यक्त गरिन् । उनले भनिन् “केही समयअघिको तुलनामा अहिले सेवा विस्तार भएको देखिन्छ, जुन सकारात्मक पक्ष हो । तर, अझै सुधार आवश्यक छ ।” प्रदेश सरकारको ध्यान स्वास्थ्य सेवा सुदृढीकरणमा रहेकाले आगामी दिनमा अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय बनाउने उनले बताइन् ।
अनुगमन टोलीले अस्पताल भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्ने मन्त्रालयले जनाएको छ । साथै, आँखा सेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरूसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना बनाइने जनाइएको छ। चिकित्सा महाशाखा प्रमुख गेलालले टीम वर्क गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
अस्पताल व्यबस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्य र मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले मन्त्रालयको सुझाव र निर्देशन अनुसार सेवा बिस्तार सुधार गर्ने बताए ।