अँगेनाको धुवाँले सिंगारिएर
छाला र यौवन चाउरिएकी अधबैँसे
जिन्दगीका दोस्रो पक्षले भरिदिएका पानाहरु
पुरै खाली देखिन्छन् ।
उस्लाई निर्धक्क उ पर जान समेत
कसैको ओठको अनुमति चाहिन्छ ।
उसैले उभ्याइदिएका गोडाहरुले
उसैको बाटोको पुल भत्काइदिएको छ ।
चौरासी लाख यौनीकी महारानी
चौरासी पूजामा छोरो नपाएर तड्पिरहेकी हुन्छे,
बेस्सरी चरिचट्ट पारेर भित्ताका क्यानभासमा मात्र सजाउन चाहन्छ मान्छे ऊनीलाई अब ।
गर्हुङो मन लिएर
हलुँगो वाफ जसरी
चस्माको सिसामा
हल्का रुपमा टासिएकी हुन्छे लोग्नेहरुका अघि ।
उसले खुट्टाका छाला उप्काएर
उस्को पुरुषलाई सुख थप्छे,
उस्कै शरीरबाट बगेर
उसैको शरीरलाई कोतारेर
उसैको श्वासमा बिर्को लगाउन खोज्छन्,
हो उ त्यही आइमाई हो
जस्को मन फुटेको छ चरक्क
उसैका लोग्नेहरुको मन सिल्दासिल्दै ।
कसैको सिन्दुरे बनेर बस्न आएकी छे
कसैको घर थाम्न समेत आएकी छे
कसैको पुर्खालाई स्वर्ग पुर्याउने छोरो राख्न आएकी छे
कसैको आत्मालाई तृप्त पार्न आएकी छे
उस्को आफ्नो भाग्य खिया लगाएर
अरुको भाग्य चम्काउन आएकी छे ।
यसो त, जो सबै थोक हुनुपर्ने हो
ती केही पनि भएनन्
जो केही मात्रै हुन् ती सबथोक भए,
जस्का लागि उ बुहारी, छोरी, श्रीमती र आमा भइन्
उस्का लागि ती सब मात्र पुरुष भए !