चितवन, ७ चैत ।
चितवनका विभिन्न विधाका खेलाडीहरुले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित पुष्पाञ्जली अस्पतालमा गरिने उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन । चितवन जिल्ला खेलकुद समितिका अध्यक्ष राजन कार्की र अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारी बीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा चितवनका खेलाडी तथा परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै प्रयोगशाला परीक्षण, वेड सेवा, इसीजी, भिडीयो एक्सरे, सिटी स्क्यानलगायतका सेवाहरुमा पनि खेलाडीहरुले २५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका हुन् । यस्तै औषधिमा ७ प्रतिशत छुट सविधा हुनेछ ।
सो क्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले खेलाडी राष्ट्रको गहना भएको बताउंँदै खेलाडीको स्वास्थ्यप्रति अस्पतालको पनि दायित्व रहेको बताए । ‘आर्थिक अभावमा खेलाडीहरुलाई उपचारको अभाव नहोस् र गुणस्तरीय सेवा दिन पाउंँ भन्ने हाम्रो उद्धेश्य हो ।’ डाक्टर अधिकारीले भने ।
समितिका अध्यक्ष कार्कीले अस्पतालले खेलाडीहरु प्रति देखाएको सद्धभाव सहुलियतको प्रशंसा गरे । खेलाडीहरुमा गरिएको यस छुटले ठूलो राहत र उर्जा मिलेको अध्यक्ष कार्कीले बताए । खेलाडीहरुलाई पर्ने अन्य आकस्मिक तथा विशिष्ट सेवाको लागि आपसी समझदारी पत्रमा निणर्य गरिने सम्झौता पत्रमा उल्लेख छ । चितवनमा सबै विधाका गरी करीब २५ हजार खेलाडी रहेका छन् । गत वैशाख १ गतेदेखि नयांँ ठाउंँबाट सञ्चालनमा आएको यो अस्पतालमा सिटी स्क्यान सेवा सहित अत्यधुनिक सेवा छन् ।
सय बेड रहेको सो अस्पतालमा विभिन्न विधाका ४० जना विशेषज्ञ चिकित्सकले सेवा दिंँदै आएका छन् । अस्पतालले जनतासंँग अस्पताल अन्तर्गत विभिन्न स्वास्थ्य कार्यक्रम तथा छुट सुविधा दिंँदै आएको छ ।
कार्यक्रममा विभिन्न खेलकुद विधाका अध्यक्ष तथा प्रतिनिधि र अस्पतालका सामाजिक सेवा इकाई प्रमुख केदारप्रसाद सुबेदी, अस्पताल व्यवस्थापक ऋषिरमण खनाललगायतको सहभागिता रहेको थियो ।