भरतपुर, ७ चैत ।
कवि, कथाकार राधिका कल्पित सम्मानित हुनुभएको छ । साहित्य सङ्गम चितवनले बिहीबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा सहिद शिवप्रसाद पौडेल स्मृति सम्मान- २०८१ बाट उहाँलाई सम्मान गरिएको हो ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं र टिप्पणीकार उदय अधिकारीले कल्पितलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको हो । उहाँका `बरफका कोइलाहरू´ कवितासङ्ग्रह र `सम्मोहन´ कथासङ्ग्रह प्रकाशित छन् ।
सम्मानित स्रस्टाका बारेमा बोल्दै सरिता तिवारीले सम्मोहन कथासङ्ग्रहमा महिला अधिकार, महिला मुद्दाका विषयमा लेखिएका कथा भएको बताउनु भयो । सहिद शिवप्रसाद पौडेलका बारेमा रमाकान्त सापकोटाले बोल्नुभएको थियो ।
पुरस्कारको राशि १८ हजार रुपैयाँ छ ।