चितवन, ७ चैत ।
क्यान्सर पीडित पत्रकार संगीता बानियाँको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा उहाँको निधन भएको परिवारले जनाएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य रहनुभएकी बानियाँ विगत दुई वर्षअघिदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो ।
दिवंगत बानियाको पार्थिव शरीर भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लैजाने तयारी गरिएको छ । बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो । उहाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्थ्यो ।