हेटौंडा, ४ चैत ।
सुन्दर हरित नगरको पहिचानमा रहेको हेटौंडा उपमहानगरपालिकालाई थप सुन्दरता दिने काम थालिएको छ ।
बजारमा रहेका अशोकका बिरुवाबाट हरित नगरको पहिचान कायम गरेको उपमहानगरले पछिल्लो समय फूलैफूलको शहरको रुपमा कामलाई अघि बढाएको थियो । बजार क्षेत्रमा रहेका मुख्य सडकक्षेत्रमा विभिन्न प्रजातीका फूलको बिरुवा रोप्दै फूलैफूलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको नेतृत्वले अहिले कलाको शहरको रुपमा अघि बढाएको छ ।
चालु आर्थिक वर्षको बजेटबाट काम हुनेगरी हेटौंडा उपमहानगरपालिकाले पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटोैंडा–१० सडक छेउमा रहेको नेपाल ट्रष्ट इकाई कार्यालय हेटौंडाको कान्ति – ईश्वरी घरको पर्खालमा चित्रकला पेन्टको काम थालेको हो । ठेक्कामार्फत उपमहानगरक्षेत्र भित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान हेटौंडा आउने बाह्य क्षेत्रका मानिसले सहजै पहिचान गर्न सकुन् भन्ने उद्देश्यले चित्रलाई पर्खालमा उतार्ने काम गरिएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।
उनले भनिन् ‘ उपमहानगरले निरन्तर सञ्चालन गरेको ‘सफा हेटौंडा अभियान’ अन्तरगत हामीले नगरको सौन्दर्यलाई अघि बढाई रहेका छौँ ।’ बजारलाई सफा र सुन्दर राख्ने, उज्यालो शहर बनाउने लाईटिङको व्यवस्था गर्दै अघि बढिरहेको सन्दर्भमा अहिले बजार क्षेत्रमा रहेका खाली पर्खाललाई रंगरोगन गर्दै नगरका पहिचानलाई चित्र मार्फत देखिाउने कामको थालनि गरिएको नगर प्रमुख लामाले बताइन् ।
उनका अनुसार कामले निरन्तरता पाउने छ । अहिले पहिलो चरणमा काम थाले पनि नगरका खाली रहेका पर्खालहरुमा नगरको संस्कृति र पहिचान झल्कने गरी चित्र निर्माण गर्दै अघि बढिने बताइन् । विकास निर्माण भनेको पूर्वाधारतर्फ मात्र ध्यान नदिइ नगरको सौन्दर्यमा ध्यान दिँदै कार्यक्रमहरुलाई अघि बढाइने नगर प्रमुख लामाले बताइन् ।
उपमहानगरले पहिलो चरणमा ट्रष्टको खाली रहेको १७ सय स्क्वायर क्षेत्रमा हेटौंडाको पर्यटकीय तथा धार्मिक गन्तव्यको पहिचान दिलाउने विभिन्न प्रकारका १५ वटा चित्र पेन्ट गर्ने कामलाई अघि बढाएको छ । उपमहानगरको खरिद समितिमार्फत नगरका विभिन्न वडामा रहेका गन्तव्यलाई चित्रमार्फत पर्खालमा उतार्नका लागि ४ लाख ६८ हजार ३५३ रुपियाँ बजेटमा कामलाई अघि बढाएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । सोमबार राजमार्गक्षेत्रको खाल पर्खालमा भैरहेको कामको नगर प्रमुख लामाले अवलोकन गर्दै सुधारका लागि केही काम गर्न जरुरी रहेको भन्दै सचेत गराइकी थिइन् । अहिले काम भैरहेको ठाउँमा केही थप ठाउँ खाली रहने पर्खालहरुमा पनि बिस्तारै रंगरोगन सहित चित्रकलाको कामलाई निन्तरता दिने बताईएको छ ।
यस अघि उपमहानगरको सौन्दर्यमा थप निखारता ल्याउनका लागि नगरका अघिकांश सडक किनारामा वृक्षरोपण, खाली रहेका जमिनहरुमा पार्कको निर्माण, मुख्य बजार क्षेत्र सहित अन्य वडाहरुमा लाईटिङको व्यवस्थापन, सडक किनारामा रहेको कर्बस्टोनमा पेन्टिङका काम गरिरहेको नगर प्रमुख लामाले बताइन् ।