काठमाडौं, ४ फागुन ।
कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्तरूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक गरेका थिए । ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रहमा २५ वटा कविता र ३१ वटा गजल गरी ५६ वटा रचना समावेश गरिएका छन् । देवकी घिमिरे दाहाल प्रकाशक रहेको साहित्य शैलीको मूल्य १ सय ५० रुपैयाँ रहेको छ । उक्त कार्यक्रममा सांसद राजेन्द्रकुमार के.सी. ले कवि तथा गजलकार सुदिम्न दाहालले साहित्यमार्फत समाजमा जागरण ल्याउन गरेको प्रयत्न प्रशंसनीय भएको बताए । सुदिम्नको परिवारसँग आफू चिरपरिचित रहेको र लोकतान्त्रिक आन्दोलनमा उहाँ र उहाँका परिवारले निरन्तर सहभागिता जनाउने गरेको बताउँदै सांसद के.सी. ले भने – `साहित्यमार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई अझ परिस्कृत गर्न मद्दत पुग्नेछ । कीर्तिपुर क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु ।´
यस्तै, उक्त कार्यक्रममा वरिष्ठ सहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बरालले कवि तथा गजलकार सुदिम्नले समाजमा व्याप्त विकृतिका बारेमा कविता तथा गजलमा चिन्ता व्यक्त गर्दै अध्यात्मवादी र मानवतावादी रचनाहरू सिर्जना गरेको बताए । ‘मायाप्रेमका विषयवस्तुदेखि लिएर राजनीतिक गैरजिम्मेवारीपनसम्मका चिन्तन सुदिम्नका रचनामा पढ्न पाइने उल्लेख गर्दै प्रा.डा. बरालले भने,‘देशमा व्याप्त असमनताप्रति उनले आक्रोश प्रकट गरेका छन् । सुदिम्नका गजलहरूमा आक्षरिक लयको प्रयोग भएको पाइन्छ भने कविताहरूमा गद्यलयको प्रयोग पाइन्छ ।’ प्रा.डा. बरालले भने,‘उनले आफ्ना रचनाहरूमा प्रयोग गरेको भाषा भने सरल छ । सरलताभित्र नै सहज ढङ्गले गहन विषयवस्तु प्रस्तुत गर्नु नै उनको विशेषता बनेको छ ।’
त्यसैगरी, कार्यक्रममा एपीएफ स्कुल कीर्तिपुरका शिक्षक आचार्य केदारप्रसाद भण्डारीले यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरूमा संरचनात्मक परिपक्वता रहेको र गजलका आधरभूत मान्यताहरूलाई इमान्दार भएर परिपालन गरिएको बताए । नेपाली गजल साहित्यको आसलाग्दा गजलकारका रूपमा सुदिम्न स्थापित हुन सक्ने प्रतिभा रहेको भण्डारीले बताए । त्यस्तै, उक्त कार्यक्रममा उप – प्राध्यापक दीपक ढकालले जीव विज्ञानका विद्यार्थी सुदिम्नको साहित्यप्रतिको रुचि लोभलाग्दो भएको बताए । ढकालले मानवीय संवेदनलाई साहित्यमार्फत व्यक्त गर्नु आफैँमा प्रसंशनीय कार्य भएको बताए । यसैगरी, कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले कवि तथा गजलकार सुदिम्न प्रतिभाशाली साहित्यकारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
यस्तै, उक्त कार्यक्रममा कवि तथा गजलकार सुदिम्न दाहालले गजलकारहरूको सामीप्यले गजल लेखनतिर झुकेको कलम अझै सशक्त हुन प्रयासरत रहेको बताए । मुलतः सामाजिक, राजनीतिक विषयवस्तु र मायाप्रेम अनि अध्यात्मवादी साथै मानवतावादी चिन्तन नै आफ्नो रुचि भएको दाहालले बताए । समाजलाई जस्ताको तस्तै साहित्यमा उतार्नुपर्छ भन्ने चेतबाट आफ्ना रचनाहरू प्रेरित रहेको बताउँदै दाहालले भने- ‘भुइँ मान्छेको आवाज कलमले बोल्नु पर्छ र मेरो कलमले सधैँ बोल्ने छ ।’