मकवानपुर, ३ चैत ।
राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ कमिटिको आयोजनामा भएको फोहोर प्लास्टिक संकलन म्याराथुन प्रतियोगितामा दिवस लामा प्रथम भएका छन् । ६ दशमलब ९८ केजी प्लाष्टिक संकलन गर्दै उनी प्रथम भएका हुन् ।
यस्तै ५ दशमलब ०१४ केजी फोहोर संकलन गर्दै दिपु डंगोल द्वितीय भए । ५ दशमलब ०६ केजी फोहोर प्लाष्टिक संकलन गर्दै दिवस खतिवडा तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल लेखा आायोगका प्रमुख सन्तोष चौलागाईले क्रमश ३ हजार, २ हजार र १ हजार रुपैया पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
हेटौंडा ९ कर्रास्थित गुम्बा चोकबाट सुरु भएको म्याराथुन ४० मिनेटभित्र मानब सेबा आश्रमसम्मको फोहोर संकलन गर्नुपर्ने गरी नियम बनाईएको थियो । तोकिएको समयभित्र धेरै तौल प्लाष्टिकजन्य फोहोर संकलन गर्नेहरुबाट प्रथम, द्वितीय र तृतीय चयन गरिएको आयोजकले जनाएकाे छ । नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका हुन् । म्याराथुनमा ६० जना युवाहरु सहभागी थिए ।