भरतपुर, २ चैत ।
नेपाली लेखक सङ्घ चितवन शाखाको अध्यक्षमा शान्ति शर्मा निर्विरोध हुनुभएको छ । सङ्घको तेस्रो साधारणसभा तथा अधिवेशनले शर्माको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध गरेको छ ।
शनिबार चितवन साहित्य परिषद् भवन नारायणगढमा कार्यक्रम आयोजना गरिएको थियो । निर्वाचन समिति संयोजक केदारनाथ खनाल तथा सदस्यहरू जगन्नाथ पण्डित, गणेश श्रमण, डाक्टर हरिहर पौड्याल र डाक्टर एकनारायण पौड्यालले समितिलाई निर्विरोध गराउनु भएको हो ।
समितिको उपाध्यक्षमा लेखराम सापकोटा, सचिवमा सामना पहाड, कोषाध्यक्षमा सुमन घिमिरे र सहसचिवमा सरस्वती पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरूमा कमल अर्याल, वसन्तराज पराजुली, शिवहरि अधिकारी, दयानिधि अर्याल र सिम्रन क्षेत्री रहनुभएको छ । कार्यकाल तीन वर्षको रहनेछ ।
कार्यक्रमको पहिलो चरणमा कार्यवाहक अध्यक्ष शान्ति शर्माको अध्यक्षतामा साधारणसभा कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि केदारनाथ खनाल, विशिष्ट अतिथि ध्रुवराज पोखरेल, अतिथिहरू डाक्टर एकनारायण पौड्याल, वसन्त पराजुली, गणेश श्रमण र बालकृष्ण थपलियाले नेपाली लेखक सङ्घको योगदान र कर्तव्यका बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्वाचित समितिको पहिलो बैठकले पूर्वकार्यसमितिलाई धन्यवाद दिँदै केदारनाथ खनाल, डाक्टर एकनारायण पौड्याल, गायत्री श्रेष्ठ, सुरेन्द्र अस्तफल र गणेश श्रमणलाई सल्लाहकारमा मनोनयन गरेको छ ।