भरतपुर, १ चैत ।
प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ मा शुक्रबार काव्य गोष्ठी गरिएको छ । वालिङ् चेम्बर अफ कमर्सले फागुन २१ देखि गरिरहेको महोत्सवमा शुक्रबार काव्य गोष्ठी गरिएको हो ।
काव्य गोष्ठीका प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले जिल्लामा हुने मेला महोत्सवमा कवि, लेखकलाई सम्मान गरेर निम्ताउनु र काव्य गोष्ठी राख्नु नै महत्त्वपूर्ण पक्ष रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले `बाघ´ शीर्षकको कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्याङ्जा जिल्लासहित बाहिरी जिल्लाका स्रस्टालाई पनि सहभागी गराइएको थियो । रुपन्देहीबाट आएका सुशील सापकोटाले गजल र छवि ज्ञवालीले मुक्तक प्रस्तुत गरे । त्यसैगरी पोखराका कवि अमृत क्षेत्रीले `रङहरूको हल्ला´ शीर्षकको कविता सुनाए भने गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले गजल प्रस्तुत गरे । नवलपरासीका स्रस्टा लेखराम सापकोटा र पाल्पाका डाक्टर शंकरप्रसाद गैरेले गजल सुनाए ।
स्याङ्जाका स्रस्टाहरू उपमा पाण्डेले `इच्छा´ शीर्षकको कविता सुनाइन् भने वसन्त खनालले `मृत्युको घमण्ड´ शीर्षकको कविता प्रस्तुत गरे । त्यसैगरी बोधराज न्यौपानेले `हो राष्ट्र सेवक´, रिमबाबु रानाले `प्रश्न´, लोकहरि पाण्डे क्षितिजले `नदी र जीवन´, ढालबहादुर केसीले `आँधी सुसायो अहो´, अनन्त अर्यालले `परदेशी भाइलाई चिट्ठी´, ध्रुवप्रसाद पंगेनी शर्माले `सतीको श्राप´ र शम्भु अर्यालले `मन´ शीर्षकको कविता प्रस्तुत गरे । त्यस्तै विष्णु पंगेनी पाण्डे र पारिश्वर न्यौपानेले मुक्तक साथै गुरू ढकाल, पराजित रेशम गोतामे र मिलन समीरले गजल प्रस्तुत गरे ।
`आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने नाराका साथ वालिङस्थित खेलमैदानमा महोत्सव चलिरहेको छ । वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचारप्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवर्द्धन एवं संस्कृतिको जगेर्ना गर्ने उदेश्यले महोत्सव गरिएको बताए ।
वालिङको सभ्यता र यहाँ हुने विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुले वालिङको विशिष्ट पहिचान बनाउँदै यस महोत्सवलाई नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न सहयोग पुग्ने न्यौपानेले अपेक्षा गरे । स्रस्टाहरूको माझमा बसेर विभिन्न बिधाका सिर्जना सुन्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष न्यौपानेले बताए ।
स्थानीय स्तरमा उत्पादित वस्तुको बजार प्रबर्द्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराउने र वस्तु सेवाहरु उपभोक्तासम्म पुर्याउन महोत्सवले सघाउ पुर्याएको कार्यक्रम संयोजक भीमनारायण कोइरालाले बताए ।
स्रस्टाद्वारा गह्रौँसुर मन्दिर दर्शन
काव्यगोष्ठीमा सहभागी हुन आएका बाहिरी जिल्लाका स्रस्टालाई बिहीबार गरौँसुर कालिका मन्दिर दर्शन गराइएको थियो । काव्य गोष्ठी कार्यक्रम संयोजक मिलन समीर र शम्भु अर्यालले पाहुना स्रस्टालाई मन्दिर पुर्याएका थिए । गह्रौँसुर मन्दिर ५ सय ५० वर्ष पुरानो मन्दिर हो । तत्कालीन बाईसीचौबिसी राज्य अन्तरगतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाँणको समयमा स्थापित भएको किम्बदन्ती छ । वालिङ बजारबाट १० किलोमिटर दक्षिणमा रहेको मन्दिर करिब १३०० मिटर उचाइमा छ ।
महोत्सव चैत ३ गते आइतबारसम्म सञ्चालन हुनेछ ।