भरतपुर, २७ फागुन ।
हित्तचित्तको नामले परिचित सांगीतिक जोडी यमलाल भण्डारी र अर्जुन सापकोटा सामाजिक अभियानमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् ।
विशेषगरी सामाजिक सञ्जालमार्फत जोडिएकाहरुले उनीहरुमार्फत सामाजिक कार्यका लागि पठाएको रकम जस्ताको तस्तै हस्तान्तरण गर्न यिनीहरु दैनिक लागिरहेका हुन्छन् ।
यिनीहरुको सहकार्य भएको ६ वर्ष भयो । `विदेशी भूमिमा रहेका नेपालीहरुले सामाजिक सेवाका लागि भन्दै दैनिकजसो २० हजार देखि ३० हजार रुपैयाँ पठाउने गर्नुहुन्छ, हामीले पुलको काम मात्र गरेका हौँ, भण्डारीले भने – `हामीमार्फत दैनिक ३० हजार भन्दा बढीको खाद्यान्न सहयोग मानव सेवा आश्रम चितवनमा आउने गरेको छ, मासिक ३ लाख रुपैयाँ त मानव सेवा आश्रमलाई नै हस्तान्तरण गरिन्छ ।´
हालै मात्र यो जोडीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आदर्श गृह नेपालको भवन निर्माणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरे । संघीय संसदका माननीय शान्ति परियार, चितवन जिल्ला अदालत बार एशोसियनका अध्यक्ष अधिवक्ता फूलमाया रानाभाट, मानवअधिकार तथा शान्ति समाजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पौडेल सहित अधिकारकर्मी र अभियन्ताको रोहवरमा गृहलाई सो रकम क्यूआरमार्फत हस्तान्तरण गरिएको हो ।
आफूहरु जापान भ्रमणका बेला भजन गाएर रमाइलो गर्दा जापानमा रहेका नेपालीहरुले खुसी हुँदै टोपीमा लगाइदिएको पैसा एकमुष्ट पारी सोही रकमबाट गृहको बन्न लागेको भवनमा इट्टा थप्न सहयोग गरेको हित्तचित्तले बताएका छन् । `त्यतिबेला ३ लाख रुपैयाँ संकलन भएको थियो, हामीले सो रकमको १ लाख रुपैयाँ मानवसेवा आश्रममा खाद्यान्न सहयोग गर्यौँ भने २ लाख रुपैयाँ असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र आदर्श गृहमा दिएका हौँ´ उनले बताए ।
सो अवसरमा हाल जापानमा रहेका सुभाष कँडेल र शर्मिला आचार्य कँडेलले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुमार्फत पठाएको ३० हजार रुपैयाँ समेत गृह र मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
हालसम्म हित्तचित्तको माध्यमबाट सामाजिक कार्यका लागि भन्दै विदेशमा रहेका नेपालीहरुले ४० लाख रुपैयाँ पठाइसकेको यमलाल भण्डारीले जानकारी दिए ।
`शुरुमा सामाजिक सञ्जाल टिकटकमार्फत विदेशमा रहनुभएका नेपालीहरुसँग छुट्टाछुट्टै रुपमा जोडिएका हौँ´, उनले भने – `पछि कर्म र रुचि मिलेपछि जोडीको रुपमा सहयात्रा गरिरहेका छौँ । जोडी भएर हिँड्न थालेपछि थप सहयोगी मनहरुसँग जोडिन पाएका छौँ ।´
उनीहरुले जाजरकोटको भूकम्प, बाढी पीडित, रगतको अभावमा छट्पटाएकाहरुलाई व्यवस्थापन गर्न सघाउने र अन्य असहाय अनाथ र विपन्नलाई आवश्यकता अनुसार सहयोग गर्ने गरेका छन् ।
यमलाल भण्डारी आफैँ पनि सर्प उद्धारकर्ताको रुपमा परिचित नाम हो । उनले विगत ८ वर्षदेखि सर्पको उद्धार संरक्षण र सर्पको टोकाईबाट छट्पटिएकालाई अस्पतालमा पुर्याउने काम गर्दै आएका छन् ।
सर्पबाट मानिस मानिसबाट सर्प जोगाउने अभियानलाई गाउँगाउँमा फैलाउँदै हिँडेका भण्डारीले हालसम्म २८ सय भन्दा बढी सर्पलाई घरभित्रबाट निकालेर उद्धार गरी जंगलमा सुरक्षित रुपमा छाडेका छन् । गुल्मीमा रहँदा एक महिलालाई सर्पले टोकेको ६ दिनको दिनमा मृत्यु भएपछि भण्डारी यसको अध्ययन संरक्षण र विकासमा जुटेका हुन् । उनले अहिले आफ्ना २ छोरीलाई पनि सर्प समाप्त र उद्धार गर्न सिकाएका छन् । सर्प उद्धारको क्रममा आफैँलाई ६ पटक टोकेका अनुभव सुनाउँदै उनले संसारकै बिषालु मध्येको एक किङगोव्रालाई पनि घरभित्रबाट समातेर उद्धार गरेको बताए ।
`आफूभन्दा धेरै डराउनेलाई निडर बनाउन छ, सँगसँगै हित्तचित्तको जोडीमार्फत सामाजिक कार्यमा पनि सक्रिय बन्ने अठोट छ´, उनले सुनाए ।