भरतपुर, २७ फागुन ।
निर्देशन दीपक रौनियारको फिल्म ‘राजागंज’को सोमबार साँझ नारायणगढको इन्द्रदेव सिनेमा हलमा प्रिमियर शो गरिको छ । पूर्वी नेपालको विर्तामोड, इटहरी, जनकपुर र विरगञ्ज हुँदै प्रिमियर शोका लागि निर्देशक रौनियारसहित कलाकारको टोली नारायणगढ आइपुगेका हुन् । प्रिमीयर शो हेर्न चितवनका साहित्यकार, प्राध्यापक, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थासँग आवद्ध प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
राजागंज चलचित्रमा मुख्यत: मधेशको कथा छ । पहाडी समुदायकी महिलासँग बिहे गरेका एक जना मधेशी नेता जो प्राय: काठमाडौंमा नै बस्छन् र सांसद पनि हुन् । मधेसमा उनको छोरासँगै अर्को एकजना बालक अपहरणमा परेपछि त्यसको अनुसन्धान गर्न खटिएकी प्रहरी निरीक्षक पूजासँगै सिनेमाको कथा अगाडी बढ्छ । प्रहरी निरीक्षक पूजाको भूमिकामा रहेकी आशा मगराती सिनेमाको केन्द्रीय पात्र हुन् ।
प्रहरी उपरीक्षक (एसपी) दयाहाङ राई, प्रहरी निरीक्षक बनेकी नीकिता चाण्डक र प्रहरीकै भूमिकामा रहेका विजय बरालले अपहरित बालकलाई खोज्ने क्रममा के कस्तो भूमिका खेल्छन् ? उनीहरुको कार्यशैली, मनोभावना र सम्बन्धसँगै मधेसका विभिन्न पाटाहरु खुल्दै जान्छ । मधेश आन्दोलन चल्दै गर्दा भएको नेतापुत्रको अपहरणले मधेसको राजनैतिक, शैक्षिक र सामाजिक पाटोहरुलाई पस्कन्छ । कसले न्याय पायो, कसलाई अन्याय भयो ? किन यस्तो भयो ? सिनेमा सकिँदै गर्दा दर्शकको मस्तिष्कमा यी प्रश्न घुम्न थाल्छन् ।
निर्देशक रौनियार, कलाकार आशा मगराती र विजय बराललगायतले सिनेमाको प्रदर्शनपछि दर्शकसँग वार्ता पनि गरे । प्रिमियर शोमा पुगेका चितवनका पुराना कलाकार ऋद्धिचरण श्रेष्ठ जसले थुप्रै नेपाली सिनेमामा चरित्र अभिनेताको भूमिका गरेका छन् उनले सिनेमामा मधेशको कथालाई सरल तरिकाले पस्किएको बताए । ‘म मधेश रौतहटको गौरमा हुर्केको व्यक्ति हुँ । त्यहाँ मैले सिनेमाको जस्तै कथा व्यथादेखेको छु,’ उनले भने ।
पत्रकार सूर्यप्रकाश कँडेलले कलाकारमाझ प्रतिक्रिया दिँदै राजागंज रङ्गभेद र लिङ्गभेदविरूद्धको सशक्त प्रस्तुति भएको बताए । उनले यो सिनेमा फरक स्वादको भएको र हेर्दाहेर्दै सिनेमा सकिएको पत्तै नपाएको पनि सुनाए ।
त्यसैगरी सञ्चारकर्मी अजिता अधिकारीले पनि राजागंज सिनेमाको कथा तराईको नेरोघेरोमा घुमेको बताइन् । `भूगोलले मात्र पहाडिया र मधेसी बनाएको छैन हाम्रो समाजलाई, पहाडिया र मधेसी यी बिच ठूलो दरार छ समाजमा । यो बिडम्बनासँगै हामी बाँचिरहेका छौँ´, अधिकारीले भनिन् – `मधेसी समुदायले लडिरहेको अस्तित्वको लडाइँ, समाजमा तेस्रो लिङ्गीहरुले खुलेर बाँच्न नसकेको पीडा, सरकारी विद्यालयको शैक्षिक स्तर मधेसमा मात्र होइन मध्य प्रदेश र पहाडी क्षेत्रमा पनि चलचित्रले देखाए जस्तै बिजोग छ ।´
चलचित्रमा प्रहरी निरीक्षकको भूमिका निभाउने आशा मगरातीको अभिनय तारिफ योग्य रहेको उनले बताइन् । `विजय बराल सदाबहार अच्छा लाग्ने पात्र हुन् । चलचित्रले न रुवाउँछ न हसाउँछ । रुन या हाँस्न मात्र चलचित्र होइन है भन्ने कुरा पनि बुझ्न जरुरी छ ।एउटै विषयलाई केन्द्रमा राखेर चलचित्र सलल बगेको छ ।´, अधिकारीले भनिन् ।
त्यसैगरी पत्रकार अनिल ढकालले पनि चलचित्रको बनोट सुन्दर रहेको प्रतिक्रिया दिए । `यो चलचित्रको बारेमा साथीलाई, छरछिमेकीलाई जानकारी दिएर हलसम्म पठाउँदा अन्याय हुँदैन, फिल्म राम्रो बनेको छ´, ढकालले भने ।
युवा व्यवसायी लेखराम सापकोटाले आफूले मधेसका मुद्दामा बनेका थोरै मात्र चलचित्र हेरेको बताउँदै राजागंज राम्रो चलचित्र बनेको बनाए । सबै कलाकारहरुले आफ्नो भूमिकामा न्याय गरेको बताउँदै मुख्य पात्र आशा मगराती अर्थात पूजा सरको अभिनय तारिफयोग्य रहेको बताए ।
बालकुमारी क्याम्पसकी प्राध्यापक रञ्जना लामिछानेले राजागंज सिनेमाले मधेसका मुद्दालाई समेटेको बताइन् ।विशेष गरेर मधेसी र पहाडीबिचको `विभेद, महिला हिंसा, भ्रष्टाचारलगायतका विषयवस्तु सिनेमामा सलल बगेको छ। फिल्म हेर्दा मज्जा आयो ।´ लामिछानेले भनिन् ।
त्यसैगरी पत्रकार प्रेमप्रसाद कँडेलले राजागंजले समग्र मधेशको वास्तविक चित्र कोर्न सफल रहेको प्रतिक्रिया दिए ।
`सिनेमाले नेपालमा सरकारी स्कुलको अस्तव्यस्त अवस्थालाई राम्रोसँग देखाएको छ । राजनीति सेटिङ्ग भर्सेज अशिक्षा, अन्याय, गरिबी र बेथितिको राम्रो चित्रण छ । फिल्म हेर्न लायक छ ।´ उनले भने ।
गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले राजागंज सिनेमा राम्रो लागेको बताए । उनलेे मधेसको कथावस्तु, पहाड र मधेसको अन्तर, रङ्गभेद, लिङ्गभेदविरूद्धको प्रस्तुति मन परेको बताए । सिनेमामा वर्तमान शैक्षिक संस्थाको अवस्था र मधेसको प्रतिविम्बलाई छर्लङ्ग पारिएको अनायासले बताए ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा ‘पूजा सर’का नामबाट सहभागी भएर प्रशंसा बटुलेको यो फिल्म नेपालमा सार्वजनिक हुनुअघि विभिन्न सहरहरुमा प्रिमियर गरिएको हो । नारायणगढपछि काठमाडौं, नेपालगञ्ज र पोखरामा पनि प्रिमियर शो गर्ने योजना रहेको निर्देशक रौनियारले बताए । उनका यसअघि ‘हाइवे’ र ‘सेतो सूर्य’ जस्ता फिल्म प्रदर्शनमा आइसकेका छन् । उनले परम्परागत धार र कथाबाट अलग रहेर फिल्म बनाइरहेका छन् ।