‘बोरा’ अखण्ड भण्डरीद्वारा लिखित एक सामाजिक उपन्यास हो । यो उपन्यास सत्य घटनामा आधारित भएको कुरा लेखकले बताएका छन् । यस उपन्यासले समाजमा ज्येष्ठ नागरिकहरूले सम्मानपूर्ण तरिकाले बाँच्न नपाएको ,उनीहरू अपहेलित ,तिरस्कृत हुनुपरेको यथार्थलाई उद्घाटन गरेको छ । आजका पढेलेखेका भनाउँदा छोराछोरीको नैतिकताको धरातल कमजोर बन्दै गएकाले उनीहरूले आफ्ना बाबुआमाप्रतिको जिम्मेवारीलाई बेवास्ता गर्दै व्यक्तिगत सुख सुविधालाई मात्र महत्त्व दिने गरेको कुरा यस उपन्यासले उठाएको छ । यस उपन्यासमा नेपाली समाजमा महिलाहरूका दुःख, पीडा र सास्तीलाई रश्मीकी आमा, जमुना, मुना र यमुनाका माध्यमबाट देखाइएको छ । यसका साथै यस उपन्यासमा लेखकको साहित्यसम्बन्धी धारणा पनि व्यक्त भएको छ ।
यस उपन्यासकी नायक यमुना अठसठ्ठी वर्षको उमेरमा पनि पनि निकै ऊर्जाशील देखिन्छिन् । यमुना आफ्नै पाखुरीमा विश्वास गर्ने एक कर्मठ व्यक्तित्व हुन् । उनले चाहेको भए आफ्नो मावली हजुरबुवा मुरलीधर,आफ्नै बाबु कमलीकान्त ,लोग्ने रुद्र र सानी आमाको मुनाको सम्पत्तिमा हक दाबी गरेर लडेर लिन सक्थिन् तर उनलाई कहिल्यै कसैको सम्पत्तिको आश लागेन । उनले आफ्नै पाखुरीको बलले छोरो असललाई हुर्काइन्, बढाइन् र पढाइन् । (यद्यपि डाक्टर पढ्ने बेला हरिविनोदको सहयोग प्राप्त भयो ।) यमुना आँट र साहसकी प्रतिमूर्ति नै हुन् । जीवनमा जतिसुकै दुःख, पिर परे पनि कहिल्यै न आत्तिने धीर तपस्वी हुन् उनी ।
आफ्नो सुख सुविधाको ख्याल नराखी सधैं सन्तान र परिवारको लागि समर्पित भएकी यमुना त्यागको अर्को नाम हुन् । बिहे गरेको एक डेढ वर्ष भित्र नै श्रीमतीको पेटमा गर्भ भएकै बखत अर्की स्वास्नी ल्याउने र त्यसपछि कहिल्यै श्रीमतीलाई श्रीमती र छोरालाई छोराको रूपमा नहेरेको, आधारातमा गोठको बास पनि खोसेको रुद्रलाई आफूले पनि श्रीमानका रूपमा नमानेर क्रियाकर्म नगरी विद्रोह गरेकी छन् यमुनाले । मन, मष्तिष्क र व्यवहारबाट सम्बन्धविच्छेद भइसकेपछि सांस्कृतिक रूपबाट मात्र त्यहाँ जोडिन जानुपर्ने औचित्य नदेख्ने यमुना चारपाटा मुडेर पाटीबाट निकाल्दा पनि विचलित भएकी छैनन् । दुःख, पिर र समस्याबाट कहिल्यै न आत्तिने एक अथक सङ्घर्षशील योद्धा हुन् यमुना । उनी जन्मनेबित्तिकै उनको जीवन बचाउन उनकी आमाले सङ्घर्ष गर्नुपर्यो । तेह्र वर्षको कलिलो उमेरमा आमा हजुर आमा र हजुरबुबा सबैलाई एक एक गरेर गुमाउनु पर्यो । आश्रय पाइएला भनेर पिताकहाँ पुगेकी यमुना ज्यान बचाउनका निम्ति भाग्नुपर्यो ।
झापामा बल्लबल्ल सानी आमासँगको वसाइ व्यवस्थित हुँदै थियो नियतिले विवाहमार्फत् धनकुटा पुर्याइदियो । यमुनाको वैवाहिक जीवन पनि सुखपूर्ण हुन सकेन । बिहे गरेको एक डेढ वर्षमै लोग्नेले सौता हाल्यो ।। लोग्ने त खोसियो खोसियो नियतिले उसकी सानीआमालाई पनि चुँडेर लग्यो । यसरी न टेक्ने हाँगो न समाउने डालो भनेझैँ भएकी यमुनाले दुःख र सङ्घर्ष गरेर छोरालाई डाक्टर बनाइन् । यसपछि पनि उनका दुःख सकिएनन् । उनले विभिन्न आरोप सहनुपर्यो । कुटपिट सहनुपर्यो । त्यतिले नभएर बोरामा कोचिएर खोलामा मिल्किनुपर्यो । यमुनाको जीवन पटक पटक दुःखको उत्कर्षमा पुगेको देखिन्छ । अन्त्यमा संयोगान्त किसिमबाट उपन्यासको अन्त्य भएको छ ।
आजको समयमा ज्येष्ठ नागरिकहरू अपहेलित हुन थालेका छन् । आफ्ना छोराछोरीका लागि आफ्नो जीवनमा खाइनखाइ दुःख र सङ्घर्ष गरेका बाबु आमा आफूलाई सहारा चाहिने बेला सहारा नपाउनु, घरबाट निकालिनु, अपमानित हुनु दुःखको कुरा हो । सभ्यता र सुसंस्कारका कुरा गरेर नथाक्ने हाम्रो समाज कतातर्फ जाँदै छ ? यस बारेमा सोच्नुपर्ने बेला आएको छ । ज्येष्ठ नागरिकहरू ज्ञान र अनुभवका खानी हुन् । उनीहरूका ज्ञान र अनुभवबाट पनि हामी लाभान्वित हुन सकिन्छ।आफ्नो ऊर्जाशील समय सन्तानका लागि खर्च गरेका बाबुआमा कमजोर हुनेवित्तिकै हेप्ने ,होच्याउने गरेको देखिन्छ । यस उपन्यासमा अठसठ्ठी बर्षकी जिउँदी जाग्दी र सन्ततिको हितमा खटिरहेकी आमा त बोरामा कोचिएर मिल्किनु पर्यो भने पूर्ण रूपमा परनिर्भर आमा बाबुहरूको अवस्था कस्तो होला ? हिजो कमाएर, उब्जाएर हामीलाई पालन पोषण गर्ने बाबुआमाप्रति आज उनीहरू काम गर्न नसक्ने हुँदा उनीहरूप्रति हाम्रो दायित्व हुन्छ कि हुँदैन रु उपन्यासले सोच्न बाध्य बनाएको छ । आजको समाजमा ज्येष्ठ नागरिकप्रति हुने गरेको शोषण अन्याय, अत्याचार र थिचोमिचो सदाका लागि अन्त्य होस्,प्रत्येक घरका ज्येष्ठ नागरिकहरू सम्मानपूर्ण किसिमबाट बाँच्न आऊन् भन्ने लेखकको चाहना छ । हरेक छोराछोरीलाई बाबुआमाप्रतिको जिम्मेवारी बोध गर्नका लागि झक्झक्याउने काम यो उपन्यासले गरेको छ ।
आमाको हृदय ममता नै ममताले भरिएको हुन्छ । आमाले आफ्नो एक मुठी सास रहुञ्जेल सन्तानका निम्ति जे गर्न पनि पछि पर्दैनन् भन्ने उदाहरण यो उपन्यासले देखाएको छ । भर्खर जन्मेकी छोरीको प्राण रक्षाको लागि जमुनाले हातमा खुकुरी नचाउँदै शत्रुको प्रतिरोध गरिन् । त्यही रात रगतको धारो छुटाउँदै छोरी लिएर भागेकी जमुना माइ खोला तरिसक्दा मरणासन्न अवस्थामा पुग्छिन् । यता छोरा असलका निम्ति यमुनाले के सम्म गरिनन्१ उनले छोराको लागि जीवन नै समर्पित गरिन् । उनले दोस्रो विवाह गर्ने कल्पना पनि गरिनन् । उनले दिन रात नभनी शारीरिक श्रम गरिरहिन् ।यतिसम्म कि छोराले चित्त दुखाउला भनेर थाकेर ज्यान थिलोथिलो हुँदा ऐयासम्म पनि भनिनन् । उनी मेलामा साहूले दिएको खाजा पनि छोरो सम्झेर खान सक्थिनन् । खाजा पोको पारेर घर फर्किन्थिन् । यसबाट आमाको ममता वर्णनातीत हुन्छ भन्ने कुरा पुष्टि हुन्छ ।
यस उपन्यासमा तीस चालीसको दशकमा भएको नेपाली समाजमा महिलाहरूको समस्यालाई देखाइएको छ । महिलाहरू सानै उमेरमा बिहे हुनु , पढेलेखेर आत्मनिर्भर हुन नपाउनु ,सम्पत्तिको हकदार नहुनु जस्ता कारणले महिलाहरूले दुःख र सास्ती व्यहोर्नुपरेको कुरालाई उपन्यासले उठाएको छ । नेपाली समाजमा सम्बन्ध गाँस्दा मानिसहरू आफूभन्दा माथिल्लो हैसियत भएकासँग सम्बन्ध जोड्न लालायित भएको पाइन्छ तर पारिवारिक हैसियत बराबर नहुँदा परिवारमा समस्या पर्न सक्ने परिवार नै तहसनहस हुनसक्ने कुराको सङ्केत उपन्यासले गरेको छ । कमलीकान्तजस्ता सामन्तले समाजका निमुखा र गरिब नागरिकलाई कसरी शोषण गर्थे भन्ने कुरा समेत् यस उपन्यासले देखाएको छ ।
यस उपन्यासमार्फत् लेखकले पत्रकार तथा लेखकहरूमाथि नै प्रश्न चिह्न खडा गरेका छन् । साहित्यकार अनि पत्रकारहरू शक्ति र सत्ताको वरिपरि मात्र घुमिरहेको, उनीहरूले जनसामान्यको समस्यालाई ध्यान नदिएको आरोप यमुनाको छ । यमुना म पात्रलाई कटाक्ष गर्छिन्, “पत्रकार त ठुल्ठुला मान्छेका पछि क्यामेरा तेर्स्याएर दगुर्ने होइन र ?” (बोरा, पृष्ठ ३५) उनका विचारमा लेखकले पत्रकारले त समाज परिवर्तनका निम्ति कलम चलाउनुपर्ने हो । अशिक्षित असचेतहरूमा चेतना भर्नु , अन्याय अत्याचारको विरोध गर्नु ,कमजोर अनि निमुखाको आबाज बन्नु साहित्यकारहरूको धर्म हो । य
दि समाजका लागि योगदान गर्न सक्दैन भने त्यस्तो साहित्यको केही अर्थ छैन भन्ने लेखकको विचार छ । उनी आफ्नो मुखपात्र यमुनालाई यसो भनाउँछन्, “समाज अझै पापिष्टहरूको हातमा छ । अत्याचार ज्युँको त्युँ छ । तिमीहरू के लेख्छौ किताब ? किताब लेखेर खोई के पो हुन्छ ? यो समाज बदलिन्छ ? मान्छेको विचार बदलिन्छ ? कुसंस्कार र कुप्रथाहरू बदलिन्छ ?” (पृष्ठ ३७)
यमुना म पात्रलाई चेतावनी दिन्छिन्, “परिवर्तनको राँको सल्काउन सक्छौ ? त्यसमा डराउँछौ भने किन लेख्छौ किताबका ठेली ? अन्यायका विरुद्ध लड्नेलाई प्रोत्साहन गर्दैनौ भने किन बन्छौ लेखक ?… बेकारमा के समय नास्छौ लेखेर किताब सिताब ?” (पृष्ठ ३९) साहित्य त देशमा व्याप्त अन्याय अत्याचारको विरुद्धमा विद्रोहको आगो बनेर दनदनी बल्न सक्नुपर्छ । ज्यानको बाजी थापेर निरङ्कुशता विरुद्ध होमिनुपर्छ कलम। अन्यायका विरुद्धमा लागेकालाई सघाउनुपर्छ कलमले । आफ्नो स्वाधीनताका लागि सचेत नभएकालाई चेतना भर्न सक्नुपर्छ । समाजमा व्याप्त कुप्रथालाई जरैदेखि उखेलेर फाल्न सक्नुपर्छ कलमले । यस्तो सामर्थ्य राख्न नसक्ने साहित्यिक कृतिको कुनै उपादेयता हुँदैन यसैले लेखकहरू मैले के लेखिरहेको छु र यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा सचेत हुन जरुरी भएको कुरा उपन्यासकारले उल्लेख गरेका छन् ।
यो उपन्यास एउटी महिलाको सङ्घर्षको कथा हो । जन्मेदेखि अठसठ्ठी वर्ष हुँदासम्म उनको सङ्घर्ष सकिएको छैन । उपन्यासमा एउटी आँटिली साहसी महिलाको चरित्रको चित्रण गरिएको छ । उपन्यासमा झापा धनकुटा विराटनगर र काठमाडौँ स्थानिक परिवेशका रुपमा आएका छन् भने विक्रम सम्बत दुई हजारको दशकदेखि सत्तरीको दमकसम्मको समय कालिक परिवेशको रुपमा आएको छ । उपन्यासमा परिवेश चित्रण त्यति सशक्त बन्न सकेको छैन । उपन्यासको भाषाशैली आकर्षक छ । उपन्यासको सुरुवातदेखि अन्तिमसम्म नै कौतुहलता पैदा गरेर पाठकलाई तानिरहन लेखक सफल भएका छन् । यस उपन्यासले आफ्नो कर्तव्यबाट विचलित भएका सन्तानलाई कर्तव्यपालनका निम्ति सचेत गराएको छ । यो उपन्यासलाई मैले एउटा पठनीय कृतिका रूपमा लिएको छु ।