भरतपुर,६ जेेठ ।
भरतपुर महानगरपालिकामा मतणना सुरु भएको ५ दिनमा जम्मा ९ वडाको मतगणना कार्य सकिएको छ । महानगरमा कूल १ लाख १२ हजार ७४१ मत खसेको थियो । शुक्रबार साँझसम्म झण्डै खसेको मतको एक चौथाई मत बढी गणना भएको छ ।
सुरुमा मतपत्र गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । मतगणना निकै सुस्त गतीमा अघि बढेपछि ३ गतेबाट ९ ठाउँमा मतगणना कार्य सुरु भएको थियो । तर, मतगणनामा हुने ढिलाई हटेको छैन । पछिल्लो समय वडा तहको नतिजा आउन केहि छिटो भएपनि तुलनात्मक रुपमा महानगरपालिकाको अन्तिम मत परिणाम थाहा पाउन एक हप्ता कुर्नुपर्ने देखिएको छ । महानगरपालिकाको वडा तहको मत सार्वजनिक भैरहेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले विजयी उम्मेद्वारको मत सहितको नामावली औपचारिक रुपमा सार्वजनिक गर्ने गरेको छैन । मतगणना कार्य छिटो सक्न शनिबारबाट थप तीन वटा मतगणना टोली थपिने तयारी रहेको छ । निर्वाचन आयोगले एक हप्तभित्रै अन्तिम नतिजा सार्वजनिक गर्ने बताउँदै आएपनि त्यो गतीमा भरतपुरमा मतगणना कार्य चलेको छैन । भरतपुर महानगरपालिकामा मतगणना धेरै ठाउँमा भएपनि अनुमगन प्रभावकारी नहुदा अपुष्ट नतिजा बाहिरिने गरेका छन् । इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाको मतगणना कार्य भने सकिएको छ ।
शुक्रबार सार्वजनिक भएको मतपरिणाम अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार यमलाल कंडेलले प्यानल सहित जितेका हुन् । कंडेलले एक हजार पाँच सय ३५ मत ल्याएर वडा अध्यक्षमा विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी सन्तलाल गुरुङले एक हजार एक सय २२ मत प्राप्त गरे । कंडेलले गुरुङलाई चार सय १३ मतले पराजित गरे । भरतपुर महानगरपालिकाको नौ वटा वडा गणना हुँदा हालसम्म सबैभन्दा बढी मतान्तरले कंडेल वडा अध्यक्षमा निवार्चित भएका हुन् । भरतपुरको नौ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा एमालेले पाँच वटा वडा र नेपाली काँग्रेसले चार वटा वडामा जितेका छन् । भरतपुरको वडा नम्बर १, ३, ६ र ८ नेपाली काँग्रेस तथा वडा नम्बर २, ४, ५, ७ र ९ मा एमालेले जित हासिल गरेको छ । वडाध्यक्षमा ५ मा पदमपाणि सुवेदी, ६ मा हरिविलास कोइराला, ७ मा राजेन्द्रमणि काफ्ले, ८ मा दामोदर न्यौपाने विजयी भएका छन् ।