भरतपुर, २४ फागुन ।
`स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद´ नाराका साथ तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता- २०८१ भरतपुरमा सम्पन्न भएको छ ।
प्रतियोगितामा चितवन, धादिङ, नवलपरासी, तनहुँ र कास्कीका गरी जम्मा ५७ टिमको सहभागिता रहेको थियो । एक्सन क्लबका अध्यक्ष विष्णु दवाडीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद रू. १,२५,००० सहित ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको एक्सन क्लबका सदस्य सुरेश अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगिताको बी लेभलतर्फ भरतपुर ब्याडमिन्टन क्लबका राजकुमार गुरुङ र राम ठकुरी प्रथम स्थान हासिल गर्न सफल भए भने सी लेभलतर्फ मौलाकालिका ब्याडमिन्टन क्लब नवलपरासीका बेल श्रेष्ठ र जोनम श्रेष्ठ विजयी भए ।
यस प्रतियोगिताको मुख्य प्रायोजक चितवन हार्डवेयर फूलबारी रहेको थियो । प्रतियोगिताले जिल्लास्तरका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन् ।