गैंडाकोट, २४ फागुन ।
पठन संस्कृति अभियानको ११ औँ शृङ्खलामा प्राडा देवीप्रसाद कँडेल आउनुभएको छ । विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले आयोजना गरेको पठन संस्कृति अभियानको ११ औँ शृङ्खलामा प्राडा कँडेल प्रमुख अतिथिको रुपमा आउनुभएको हो ।
प्रमुख अतिथि कँडेलले देशको शिक्षा पद्धति सन्तोषजनक नभएको बताउँदै अध्ययनका नाममा बिदेश पलायनको लहर चलेको बताउनु भयो । शिक्षा पद्धति राम्रो बनाएर सबै नेपालीलाई मुलुक मै बस्ने वातावरण बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
विदेश पलायनको अर्को कारण अस्थिर राजनीति भएको बताउँदै कँडेलले भन्नुभयो – `भ्रस्टाचार र कमिसनको अन्त्य गर्न सकियो भने पनि आम नेपालीले बिदेश मोह त्याग्छन् र गएकाहरू पनि फर्केर आउँछन् ।´
चितवन निवासी प्राडा कँडेलले वीरेन्द्र बहुमुखी क्याम्पसमा लामो समयसम्म इतिहास विषय प्राध्यापन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तिले आफूले पढेका किताबको चर्चा गरेका थिए । सोही क्रममा उदय अधिकारीले प्रभात सुवेदीको उपन्यास विदेशी साथी, गोविन्द रिमालले उदय अधिकारी र खगेन्द्र सङ्ग्रौलाको अन्तर्वार्तासङ्ग्रह `अविश्रान्त लखरलखर´ र लेखराम सापकोटाले एकदेव रिमालको कवितासङ्ग्रह `चिसो बाकस´को चर्चा गर्नुभयो ।
कार्यक्रमका संयोजक त्रिलोचन सापकोटाले डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनका बारेमा लेखिएको अङ्ग्रेजी किताबको चर्चा गर्नुभयो । गत वैशाखदेखि सुरु गरिएको यो कार्यक्रम कावासोती, रजहर र पाल्पाको रामपुरमा पनि हुँदै आएको छ ।