गैँडाकोट, २४ फागुन ।
नेपाल आदिवासी जनजाति महासंघ गैँडाकोट नगर समन्वय परिषद्ले आयोजना गरेको उद्घोषणकला तथा निर्णय पुस्तिका लेखन तालिम सकिएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर ८ विजयनगरस्थित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हलमा सम्पन्न तालिममा ३० जना सहभागी थिए । तालिम तीन दिन गरिएको थियो ।
विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर पनि बोल्ने कलाको विकास नहुँदा त्यसले संघसंस्थाको कार्यप्रगतिमा असर पुगेको महसुस गरेपछि जनजाति महासंघले तालिम आयोजना गरेको हो । तालिमबाट थोरै समयमा धेरै ज्ञान हासिल गर्न सफल भएको महासंघका अध्यक्ष नरबहादुर थापामगर (नरेश)ले जानकारी दिए ।
‘तालिममार्फत तरिका सिक्ने हो । बाँकी काम त आफैँले गर्ने हो,’ उनले भने, ‘महासंघले हरेक वर्ष आवश्यकताअनुसार यस्तै गतिविधिलाई प्राथमिकतामा राख्दै आएको छ ।’
गैँडाकोट- ८ का वडाअध्यक्ष प्रेम सापकोटाले बोलीबाटै जीवनमा धेरै चिज प्राप्त गर्न सकिने हुँदा बोलीको विकास जीवनयापनको सबैभन्दा महत्त्वपूर्ण पाटो भएको बताए । ‘जीवनमा खुसी साट्ने माध्यम नै बोली हो,’ उनले भने, ‘आदिवासी जनजाति महासंघले बोलीको विकाससम्बन्धी कार्यक्रम आयोजना गर्दा यसबाट समग्र वडाको विकासमा एउटा इँटा थपिएको छ ।’
गैँडाकोट- १४ की अध्यक्ष कोकिसरा रानामगरले आदिवासी जनजाति समुदायमा बोलीको विकास पछाडि रहेको हुँदा यस्ता कार्यक्रमले ठूलो सहयोग मिल्ने बताइन् । तालिम लिइसकेपछि मौका पाउँदा त्यसलाई सदुपयोग गर्दै गए अभ्यास मिल्ने उनले बताइन् ।
प्रशिक्षार्थी सोममाया घलेले सञ्चालन गरेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार महतोले स्वागत मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा किसान बचत तथा ऋण सहकारी संस्था विजयनगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटा, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष दुर्गाबहादुर रानामगरले शुभकामना मन्तव्य दिएका थिए भने प्रशिक्षार्थीहरुको तर्फबाट मोमकुमारी पुनमगर र राजेन्द्र रानामगरले आफ्ना अनुभव सुनाएका थिए ।
पत्रकार एवम् सञ्चारकर्मीहरु तुलमान गुरूङ, आशिक रानामगर र मुना लम्तरी मगरले तालिम अवधिभर प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।