भरतपुर, २४ फागुन ।
आख्यानकार लीलाधर पौडेलको उपन्यास `उपचार´ सार्वजनिक भएको छ । साहित्य सङ्गम चितवनको आयोजनामा शनिबार नारायणी नमुना मावि भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, लेखककी सहधर्मिणी सुमित्रा पौडेल, अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात र समीक्षक उदय अधिकारीले कृति विमोचन गर्नुभएको हो ।
कृति माथि बोल्दै समीक्षक रमेश प्रभातले पौडेलको उपन्यास समाजमा व्याप्त बेथिति र विकृतिका विरुद्धको उपचार भएको बताए । अर्का टिप्पणीकार उदय अधिकारीले पुस्तकलाई विभिन्न शीर्षकमा बाँधेर सामाजिक, राजनीतिक र पारिवारिक सुखदुःखलाई पौडेलले मीठो भाषामा पस्किन सफल रहेको बताए । उपन्यासकारका छोरा राजु पौडेलले बुबाको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए ।
सङ्गमका उपाध्यक्ष राजेन्द्र घायलको अध्यक्षतामा गरिएको कार्यक्रमलाई सचिव विष्णु तिवारीले सहजीकरण गरेकी थिइन् ।