भरतपुर, २४ फागुन ।
रत्ननगरस्थित माधवपुर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रयुष कार्कीले आजका अभिभावको ध्यान आफ्ना बालबालिकामा भन्दा धेरै सामाजिक सञ्जालतिर भएको बताएका छन् । विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´ को सातौँ शृङ्खलामा सहभागी भएका कार्कीले आजका बालबालिकाहरू अभिभावकको रेखदेखबाट टाढा रहेको बताए । उनले सामाजिक सञ्जाललाई हामीले त्यसको आवश्यकता अनुसार प्रयोग गर्न नसकेको पनि बताए । `सामाजिक सञ्जाललाई हामीले प्रयोग गरिरहेका छैनौँ, सामाजिक सञ्जालले हामीलाई प्रयोग गरिरहेको छ, यो बिडम्बना हो ।´ सामाजिक सञ्जाललाई यसको आवस्यकता र महत्त्व अनुसार चलाउन सकिएन भने यसले हामीलाई अझै अप्ठ्यारो स्थितिमा लैजान सक्ने कार्कीले बताए ।
कार्यक्रममा उनले `कोरोना कथा´ किताबमा रहेका कथाहरूको टिप्पणी राखेका थिए । कार्कीसँगै विभिन्न कक्षामा अध्ययनरत १४ जना विद्यार्थीले आफूले पढेका अतिरिक्त किताबको पठन अनुभूति सुनाएका छन् ।
कक्षा ८ का जस्मिन बमले `मैले रोपेको फूल´ किताबको चर्चा गरे । फूल तथा वृक्षरोपणको महत्त्व यो किताबमा रहेको बमले बताए । यही पुस्तकको बारेमा कक्षा ९ कि प्रतिज्ञा तामाङले पनि चर्चा गरिन् ।
त्यसैगरी कक्षा ८ की स्मारिका तिवारी र कक्षा ९ की यमुना देवकोटाले `उपहार रहस्य´ किताबको चर्चा गरे । कक्षा ९ का सफल भट्टले पारिजातको प्रसिद्ध कृति `शिरिषको फूल´ किताबको चर्चा गरे । समाजमा नारी जातिलाई गरिने भेदभावको चित्रण यो कृतिमा भएको भट्टले बताए । कक्षा ८ का सुप्रीम बगालेले लैनसिंह वाङ्देको `मुलुक बाहिर´ किताबको चर्चा गरे । यो किताब पढेर वैदेशिक रोजगारीमा आवद्ध हुनुभन्दा स्वरोजगार हुनु राम्रो भएको सन्देश मिलेको बगालेले बताए ।
कक्षा ९ का एन्जक तिवारीले `आमाबाबुको चिन्ता´ किताबको चर्चा गरे । बाबुनानी प्रति अभिभावकको चिन्ता र जिम्मेवारीलाई किताबमा राखिएको उनले बताए ।
त्यस्तै `कोरोना कथा´ किताब कै बारेमा कक्षा ८ की अञ्जलि चौधरी र रचना कार्कीले चर्चा गरे । यो किताबमा कोरोनाको कथा सँगसँगै स्वास्थ्य र सरसफाइको बारेमा चर्चा गरिएको उनीहरूले बताए ।
कक्षा ८ का सोहन न्यौपानेले `चेस खेल र नियम´ पुस्तकको चर्चा गरे भने कक्षा ९ का असीम रानामगरले मणि अर्यालको `कुटी´ निबन्धसङ्ग्रहको चर्चा गरे । त्यसैगरी कक्षा ८ का कुशल लामिछानेले `बागीश्वरी कथा विशेषाङ्क´का कथाहरू पढेको भन्दै त्यसमभित्र समावेश `कुशल´ कथाको चर्चा गरे ।कक्षा ९ कि रश्मी श्रेष्ठले `अनमोल रत्न´ किताबको चर्चा गरिन् । यो किताबमा जीवन के हो भन्ने बारेमा राम्रोसँग लेखिएको श्रेष्ठले बताइन् ।
कार्यक्रममा रत्ननगर नगरपालिकाकी शिक्षा अधिकृत सुमन सिलवालले मन्तव्य राख्दै विद्यालयमा गरिने अतिरिक्त कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान मिल्ने बताइन् । विद्यालयका प्रधानाध्यापक रमेश भट्टले शुक्रबारको दिनमा विद्यार्थीलाई व्यावहारिक र सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन विभिन्न कार्यक्रमहरू थालिएको बताए । `पठन संस्कृति एवम् अतिरिक्त क्रियाकलापले जीवनलाई जीवन्त बनाउने काम गर्दछ´, प्रधानाध्यापक भट्टले भने ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी साहित्यकार केशवराज आमोदीले नयाँ पुस्तालाई सिर्जनात्मक गतिविधिमा जोड्नु आजको आवश्यकता भएको बताए । विदेश पलायनको लहरलाई कम गर्नेतिर ध्यान दिन आमोदीले सबैलाई आग्रह पनि गरे । रत्ननगर नगर बाल क्लबका उपाध्यक्ष एवम् कार्यक्रमका सभापति विजय लामिछानेले विद्यार्थीहरुलाई सबै किसिमका अवसर र मौका दिन आग्रह गरे ।
पठन संस्कृतिका अभियन्ता एवम् सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले कार्यक्रममा सहभागी विद्यार्थीलाई चितवन र यसको सेरोफेरोसँग सम्बन्धित प्रश्नहरू राख्दै सहि जवाफ दिनेलाई बालसाहित्यका पुस्तक पुरस्कारस्वरुप उपलब्ध गराएका थिए । कार्यक्रमलाई कक्षा १० का सुजन सिंखडाले सहजीकरण गरेका थिए ।