भरतपुर, २४ फागुन ।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेस महिला विभाग चितवनले जिल्लास्तरीय अन्तरसंवाद सम्पन्न गरेको छ । कार्यक्रमका सहभागीले आज पनि महिलाहरु सामाजिक आर्थिक राजनीतिक रुपमा विभेदको शिकार बनिरहेको भन्दै समानताको लडाई जारी राख्नुपर्ने आवश्यकता औँल्याइएका थिए । संविधानले प्रदत्त गरेका अधिकारहरु पूर्णरुपमा कार्यान्वयन नहुँदासम्म सबै महिलाहरु एक भएर सशक्तरुपमा आवाज उठाउनुपर्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा नेपाल बार एशोसियन चितवनका अध्यक्ष अधिवक्ता फूलमाया रानाभाट, अधिकारकर्मी मीना खरेल र ब्रम्हकुमारी प्रतिभा दिदीले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा बोल्दै अधिवक्ता फूलमाया रानाभाटले संविधानले महिलाले घरमा गरेको कामलाई सम्बोधन गरे पनि कार्यान्वयनमा मूल्यांकन हुन नसकेको बताउनुभयो । `अहिले समाज विकृत उन्मुख छ´, उहाँले भन्नुभयो – `अब प्रत्येक अभिभावकले आफ्ना बच्चाहरु कस्तो संगतमा छन् भन्नेतर्फ ध्यान दिनुपर्छ ।´ यसै आर्थिक वर्षमा मात्र चितवनमा झन्डै १६ सय जोडीले सम्बन्ध विच्छेद गरेको तथ्याकं उल्लेख गर्दै उहाँले दैनिक १ सय ५० बढी युवाहरु लागुऔषधको मुद्धामा अदालतमा आउने गरेको जानकारी दिनुभयो ।
अहिलेको पुस्ता असमानताको शिकार भएपनि यो पुस्ताले शुरु गरेको समानताको लडाईले भावी सन्ततीलाई सहज हुने विश्वास अधिवक्ता रानाभाटको थियो । सो अवसरमा अधिकारकर्मी मीना खरेलले महिलाहरु सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक सबै प्रकारको हिंसाको शिकार बनिरहेको बताउनुभयो ।
`हामी महिलाका अधिकार र समानताको पक्षमा आवाज उठाइरहेका छौँ´, उहाँले भन्नुभयो – `महिलाहरुको संघर्ष, बलिदान र उपलब्धिहरूको सम्मान गर्दै, एक समावेशी र समान समाज निर्माण गर्न सबैले प्रण गर्नुपर्छ ।´ दिवसीय कार्यक्रमले महिला सशक्तीकरण, शैक्षिक अवसर, स्वास्थ्य, सुरक्षा र समृद्धिको पक्षमा अझ बढी काम गर्न प्रेरित गर्ने उहाँको भनाई थियो । सबै महिला तथा बालिकालाई सशक्त, सम्मानित र समान अधिकारका साथ जीवनयापन गर्नका लागि राजनीतिमा रहेका महिलाहरुको पनि महत्वपूर्ण भूमिका हुने उहाँको भनाई थियो ।
कार्यक्रममा ब्रह्मकुमारी प्रतिभा दीदीले नैतिक शिक्षा, आध्यात्मिक ज्ञान र जीवनशैलीले सकरात्मक भाव उत्पन्न भई हिंसात्मक कार्य न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस महिला विभाग संयोजक कलावती भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि संघीय सासंद माननीय शान्ति परियार रहनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, वाग्मती प्रदेश सासंद माननीय, विनु रायमाझी, माननीय माया श्रेष्ठ, माननीय गीता गुरुङलगायतले नारी दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका नेता, जनप्रतिनिध तथा आम महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।
“सबै महिला तथा बालिकाका लागि : अधिकार समानता र सशक्तिकरण” भन्ने नाराका साथ ११५ औँ अन्तराष्ट्रिय नारी दिवस आज मार्च ८ मा मनाइँदैछ ।