चितवन, २४ फागुन ।
पछिल्लो समय स्थानीय तहमा फौजदारी अपराधका घटनाहरु न्यायिक निकायमा नपुगी स्थानीय स्तरमा नै मेलमिलाप हुने अवस्था बढ्दै गएपछि भरतपुर महानगरपालिका वडा नम्बर- ६ का स्थानीय अगुवा महिलाहरुलाई घटना व्यस्थापन सम्बन्धी प्रशिक्षण दिइएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ कार्यालय र सामाजिक संस्था हाम्रो भरोसा नेपालको संयुक्त आयोजनामा स्थानीय अगुवा महिला तथा सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सामाजिक नेतृत्व विकास प्रशिक्षण दिइएको हो ।
भौतिक पुर्वाधारको विकाससँगै मानवीय विकास र समाजमा हिंसा न्यूनीकरणका लागि वडाले महिला लक्षित कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको वडा अध्यक्ष कृष्णलाल श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा वडा स्तरीय आमा समूह सञ्जालका पदाधिकारी तथा सदस्यहरु, टोल स्तरीय आमा समूहका प्रतिनिधिहरु, स्थानीय प्रहरी, मेलमिलाप समितिका सदस्य, महिला स्वयम्सेविकालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक निलम तामाङ तथा ईलाका प्रहरी कार्यालय गीतानगरका प्रमुख मीनादेवी राईले प्रहरीमा पछिल्लो समय आउने हिंसाका घटना र न्यायिक प्रकृयाका साथै लिखित सहमति, मेलमिलाप, अदालतमा मुद्दा दर्ता प्रकृया लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा सामाजिक अभियन्ता इन्द्रराज भट्टराईले यौनजन्य हिंसा र मानव बेचविखनको अवस्था साथै सामाजिक न्याय र सरोकारवालाको भूमिकाका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
अधिवक्ता श्रीराम दवाडीले घटना व्यवस्थापनका लागि कानुनी प्रकृया, प्रहरी अदालत, स्थानीय तहसँग सम्बन्धित घटना र कानुनी प्रक्रिया साथै महिला हिंसाका घटनामा प्रभावित र आरोपितको गोपनीयताको संरक्षणलगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकाल र पत्रकार प्रतिमा सिलवालले हिंसाको स्रोत, महिलाहरु हिंसामा बढी पर्नुको कारण, साथै पछिल्लो समय हिंसाको बदलिँदो स्वरुपको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको समापन सत्रमा अन्तर्राष्ट्रिय महिला दिवस विशेष अन्तर्राष्ट्रिय र स्थानीय महिलाहरुको मागमा आधारित कार्यक्रम साथै हिसां न्यूनीकरणका लागि आगामी कार्यदिशा तय गर्ने उदेश्यले विशेष छलफल गरिएको थियो ।
छलफलका क्रममा सहभागीहरुले वडा भित्रका प्रत्येक आमा समूहमा पुरुषको समेत सहभागितामा हिंसा न्यूनीकरण र सचेतना कार्यक्रम आयोजना गर्न सबैले आआफ्नो ठाँउबाट सक्दो पहल गर्ने निष्कर्ष निकालेका छन् । घटनाको प्रकृति हेरेर हिंसाका घटनाहरु व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत सहभागीहरुले व्यक्त गरेका छन् ।
हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको अध्यक्षता एवम् कार्यवाहक वडा अध्यक्ष रुद्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन सत्रमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, प्रेस युनियन चितवनका जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका निर्वाचन आयोग उपाध्यक्ष नवराज ढकाल, महिला गैर सरकारी संस्था महासंघकाका वागमति प्रदेश प्रतिनिधि लक्ष्मी लामिछानेलगायतको सहभागिता रहेको थियो ।