बिहानै सूर्योदयभन्दा अगाडि
चराहरूको चिरबिरसँगै
जुरूक्क बिस्ताराबाट उठेपछि
शुरू हुन्छ मेरो लुटुपुटु
यही आँगन, यही पिँढी, यही घर
यही बारी, यही सिँढी, यही संसार
पोछा, झाडु र हँसिया
पालैपालो यो छोडी त्यो
यही मेरो जागिर, ब्यापार
यहीँ ब्यस्त छु, यहीँ मस्त छु
उहिल्यै कलेजका दिन सम्झिन्छु
मनमनै रमाउँछु
कल्पना पो रहेछ, होसमा आउँछु
फेरि डाडु समाउँछु, पन्यू समाउँछु
धत् के सोचे होला
त्यो पुरानो ईतिहास
यही दाल, यही भात, यही भान्सा
यही मेरो वर्तमान हो
म त वर्तमानमा पो रमाउनुपर्छ
सरसफाई आफैँ गर्छु
लुगा आफैँ धुन्छु
तरकारी फलाउँछु
सासु, ससुरा, नन्द, अमाजु
आफन्त, ईष्टमित्र
सबैको मन बुझाउने मान्छे म
छोराछोरीको आमा
श्रीमानको सारथी पो हो म
आँखाका चाउरी, कलेटी ओँठ
यिनै हेर्छु फुर्सदमा
अनि सम्झिन्छु, उमेरले हो
अब किन पो हुनुपर्यो र
मनलाई बुझाउँछु
सम्झाउँछु
म कहीँ पनि त जान्नँ
केही काम पनि त गर्दिनँ
यही घर, परिवार, यही जिम्मेवारी
अरूको नजरमा
म एउटा
बेरोजगार नारी ।।