भरतपुर, २३ फागुन ।
गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भ्रातृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसंँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुण दलको अधिवेशन पनि नजिकिँदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भ्रातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुण दलको जिल्ला नेतृत्वका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । सबैको आ–आफ्नै दाबी र योजना छन् । आकांक्षी मध्येका र जिल्लाका युवा पुस्तामा प्रभावशाली एवं संभावना बोकेका नेता हुन् भरतपुर महानगरपालिका वडा नम्बर १७ का राजकुमार तामाङ ।
झट्ट हेर्दा कुनै पहलमानी प्रतियोगिता विजेता जस्ता देखिने खाईलाग्दो शरीरका राजकुमारको बोलिचालीमा मिठास तथा स्वभाव मिलनसार भएकै कारण उनले प्रशंसक र शुभेच्छुक धेरै कमाएका छन् । तामाङ कुशल बक्सिङ खेलाडी पनि हुन् । नेपाली कांग्रेसको पश्चिम चितवनको खम्बानै मानिने तामाङ इमान्दार र सहयोगी व्यक्तिको रुपमा पनि परिचित छन् । पारिवारिक पृष्ठभूमि नै नेपाली काँग्रेस उनी चितवनको लागि नयाँ व्यक्तित्व होइनन् । स्कुल, कलेज तह हुँदै कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिको उम्मेदवारी समेत दिएका थिए । उनी तरुण दलको आसन्न अधिवेशनमा अध्यक्ष पदका लागि बलियो दावेदारीका साथ होमिने तयारीमा छन् ।
गत निर्वाचनमा वडा नम्बर १७ कै जनप्रतिनिधि निर्वाचित उनमा चितवनका युवाहरुको आशा र भरोसा देखिन्छ । ‘मलाई कसैको सहयोग गर्न कुनै पार्टी धर्म वर्ग चाहिंँदैन, म जुनसुकै बेला पनि सहयोग गर्न तयार हुन्छु । गर्नु पनि पर्छ हामी समाज सेवामा लाग्नेहरूले । मेरो अनुभवले पनि यही भन्छ ।’ उनी आत्मविश्वास व्यक्त गर्छन् ।
पश्चिम चितवनको मझुवा सामुदायिक वनका दुईपटक अध्यक्ष बनेका उनी आफ्नै वडामा सक्रिय युवा पात्र पनि मानिन्छन् । स्कुले जीवनदेखिनै काँग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्हसँग घनिष्ट मित्रता गांँसेका उनी पार्टीलाई पर्दा पहरेदार र पहाड जस्तो उभिने क्षमता राख्छन । ‘मैले पार्टीलाई पर्दा जतिबेला र जस्तोसुकै परिस्थितिमा अगाडि बढ्न तयार छु, पार्टी मेरो रगत हो पार्टी मेरो भविष्य पनि हो ।’ उनमा पार्टीप्रति समर्पण सजिलै देखिन्छ ।
हिम्मत, निडर, इमान्दारिताको पर्यायवाची तामाङ सबैसंँग घुलमिल हुने युवा नेता हुन् । ‘म पार्टीका सबै तह तप्काको नेताहरुलाई सम्मान र आदर गर्दै आएको छु´, उनी भन्छन- `युवाहरुलाई पनि उत्तिकै माया र सद्भाव राख्ने मेरो विशेषता हो ।’ तरुण दललाई सक्रिय बनाउन, चलायमान बनाउन निकै नै मेहनत गर्ने उनी चितवनका पार्टीका नेताको आंँखामा पर्न सफल भएका युवा नेताको रुपमा स्थापित छन । त्यसैले पार्टीको जुनसकै कार्यक्रम तथा अभियान होस उनी हाजिर भईहाल्छन् ।
नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्धान गुरुङको निर्देशनमा हाल तरुण दलको नवीकरण र सदस्य विस्तारमा चितवनका सबै स्थानीय तहदेखि वडा तहसम्म तल्लिन छन् । ‘म अहिले तरुण दलको सदस्यता विस्तार र नवीकरणमा व्यस्त छु´ , उनी भन्छन् – `यस काममा पार्टीले दिएको विश्वासलाई गुम्न दिन्नँ ।’ कुनै पनि अध्यक्ष पदको आकांक्षीलाई प्रतिस्पर्धी नभई सहयात्रीको रुपमा लिन्छन् उनी । ‘अहिलेसम्म मेरो प्रतिस्पर्धी, विरोधी, र दुश्मनी छैन, सबैलाई म मेरो सहयात्रीको रुपमा लिएको छु ’ उनी भन्छन् । उनी चितवनको राजनीतिमा मात्र सक्रिय छैनन्, समाजसेवामा पनि उक्तिकै दिलचस्पी राख्छन् । ‘मैले राजनीतिलाई पेशाको रुपमा होइन सेवाको रुपमा लिएको छु । म राजनीतिमार्फत समाजसेवा गर्न चाहन्छु ।’ उनको अठोट छ । त्यसो त उनी चाहे भुकम्प होस्, बाढी होस् या कुनै घटना उत्तिखेरै सहयोगका लागि तत्पर हुन्छन् । ‘म युवा राजनीति गरेर कति सहयोग गरेँ, कति गरीबको मलमपट्टी लगाएंँ हेक्का नै छैन । मैले यसको हिसाब किताव गर्ने बानी पनि छैन ।’ उनमा निश्वार्थ भाव झल्किन्छ । भरतपुरमा आफ्नो उद्यम व्यवसायलाई पनि संँगै अघि बढाएका उनले दर्जनौँलाई रोजगारी समेत प्रदान गरेका छन् ।
युवाको भविष्यको चिन्ता र चासो लिने उनी युवालाई शिक्षा संँगै रोजगारी , उत्पादनशील र सिर्जनशील काम दिनुपर्नेमा जोड दिन्छन् । तरुण दलमा अध्यक्ष भएर संगठन सुदृढीकरण गर्ने, गतिशील बनाउने, संगठन विस्तार गर्ने भाईचारा भातृत्व विकास गर्ने र नेतृत्व र क्षमता अभिवृद्धि गर्ने उनको धोको छ ।
वर्षौँसम्म तरुण दलको अधिवेशन अनिर्णयको बन्दी भईरहेका बेला उनको आगमनले तरुण दल चितवनमा नयाँ परिवर्तन आउला भन्ने आशा गर्न सकिने उनका निकटहरू बताउँछन् ।