फागुन २३ भरतपुर ।
११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विरामीहरुलाई फलफूल, नरिवलपानी वितरण गरिएको छ ।
चितवन जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजना तथा विभिन्न सरोकारवालाहरुको सहभागितामा अस्पतालमा भर्ना भई उपचाररत २ सय बढी विरामीहरुलाई फलफूल तथा नरिवलपानी वितरण गरिएको हो ।
विरामीहरुको विषयमा अस्पताल प्रशासन संवेदनशील नबनेको, प्रभावकारी उपचार नभएको, पहुँचको आधारमा सेवा प्रदान गर्ने गरिएको , फार्मेसीमा सहज रुपमा औषधी प्राप्त गर्न नसकेको, मितव्ययी व्यवहार नभएको जस्ता गुनासाहरु विरामी तथा तिनका आफन्तहरुले गरेका छन् ।
आमालाई मुखको क्यान्सर भएर उपचार गर्न आएकी गुल्मीकी राधिका पाण्डेले उपचारमा ढिलाई हुने र रोग पत्ता लाग्दासम्म विरामी नै नरहने अवस्था भोगेको सुनाइन् । यहाँका अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाई छ ।
क्यान्सरबाट पीडित विरामी र तिनका आफन्तहरुले क्यान्सर अस्पताललाई नै क्यान्सर लागेको भनि पटकपटक गुनासो गरेपछि अधिकारकर्मी मीना खरेलको अगुवाईमा जिल्लास्थित क्रियाशील संघसंस्थाको बैठक बसी सबैको ध्यान अस्पतालमा परेको हो ।
आदर्श नारी विकास केन्द्रको संस्थापक तथा आदर्श गृह नेपालका अध्यक्ष मीना खरेलले अस्पतालभित्रको बेथितिलाई चिर्न अधिकारकर्मी र सामाजिक अभियन्ताको ध्यान अस्पतालमा परेको बताउनुभयो । `मैले मेरै परिवारका ३ जना सदस्य क्यान्सरबाट गुमाएँ´, उहाँले भन्नुभयो – `अस्पताल प्रशासनले आआफ्नो पदीय जिम्मेवारीलाई बहन गरि विरामीहरुको विषयमा थप संवेदनशीलता अपनाउनुपर्छ ।´
क्यान्सरका कारण विरामीसँगै तिनका आफन्त बढी मात्रामा मानसिक, सामाजिक र आर्थिक समस्यामा पर्ने गरेकाले यसतर्फ सबै पक्षको सहयोग र समन्वयको जरुरी भएको खरेलको भनाई छ ।
क्यान्सर विजेता बन्दना खाँडले यसको उपचार पद्धति लामो र खर्चिलो भएकाले विरामीको सम्मानमा राज्य नै चुकेको दुखेसो गर्नुभयो । विरामीलाई गर्ने व्यवहार सुधार भइदिए मात्र आधा रोग निको हुने उहाँको तर्क छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले स्वास्थ्य क्षेत्रमा देखिएको बेतिथिका विरुद्ध आफू सचेत भएको भन्दै यसको समाधानका लागि स्थानीय तवरबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
वाग्मती प्रदेशका माननीय माया श्रेष्ठले क्यान्सर पीडितका समस्याका सवालमा सदनमा कुरा उठाउने भन्दै अस्पतालभित्रको बेथितिका विरुद्ध आफ्नो साथ रहेको बताउनुभयो ।
अस्पतालमा प्राविधिक भन्दा बढी अन्य विधाका कर्मचारी हावी भएको, राजनीतिक प्रभाव बढी रहेको, चिकित्सकले भन्दा होटलवाला र एजेन्टको कुरामा विश्वास गर्ने परिपाटी भएकाले चुनौती थपिएको नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष चिकित्सक अनिलविक्रम कार्कीले बताउनुभयो ।
कार्यक्रममा चितवनका प्रहरी उपरीक्षक राजन लिम्बु, नेपाल बार एशोशियन चितवनका अध्यक्ष फूलमाया रानाभाट, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली, आदर्श नारी विकास केन्द्रका अध्यक्ष उषा खरेल सुवेदी, मन्जुश्री असहाय संरक्षण केन्द्रका अध्यक्ष मन्जु खाँड, पत्रकार शान्ता अधिकारी, आफन्त नेपालका अनिता खड्का, चेली नेपालका केमिका घिमिरे, पुतलीबजार महिला समूहका अध्यक्ष सन्जु तन्डुकार, चितवन सिटि मर्सी लायन्स क्लबका अध्यक्ष पवित्रा गौतम आचार्य, महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपाल, सामुदायिक सेवा केन्द्र नारायणगढ, सुभेच्छा सन्देश साप्ताहिक, आशिष सामाजिक सेवा नेपाललगायतको संस्थागत सहभागिता रहेको थियो ।
`सबै महिला तथा बालिकाका लागि : अधिकार समानता र सशक्तिकरण´ भन्ने नाराका साथ ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ मा मनाइँदैछ ।