भरतपुर, २२ फागुन ।
नारायणगढका युवा व्यवसायी गुणराज दाहालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनु भएको छ भने सहयोगापेक्षीलाई भोजन व्यवस्था गर्नुभएको छ ।
श्री पृथ्वी माध्यमिक विद्यालय कालिका नगरपालिका- ७ भटेनी, चितवनमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत सबै विद्यार्थीलाई मुना, युवामञ्च, मधुपर्क र नारी पत्रिका उपलब्ध गराउनुभएको हो । दाहाल सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ । उहाँले २०५४ सालमा उक्त विद्यालयबाट एसएलसी पास गर्नुभएको हो । कालिका नगरपालिकामै धेरै विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा करिब १२५० विद्यार्थी अध्ययनरत छन् । विद्यालय २०२५ सालमा स्थापना भएको हो ।
व्यवसायसँगै सामाजिक सेवामा अनवरत सेवारत दाहालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई पठनीय सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले विद्यार्थीलाई मुनालगायतका पत्रिकासँगै शिक्षकका लागि ६ थान श्रीमद्भागवतगीता र १२ थान शिक्षक मासिक पनि उपलब्ध गराउनुभएको छ । जन्मदिनमा सेवामुलक र सिर्जनात्मक काम गर्दै आउनुभएका उहाँले आफूले दिएका यी पुस्तक तथा पत्रिकाको सहयोगमा शिक्षक, विद्यार्थी सबैमा ज्ञानको विस्तार हुने अपेक्षा लिनुभएको छ ।
पुस्तक वितरण कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक भवानी सिग्देल, प्राथमिक तह प्रमुख विष्णुलाल श्रेष्ठ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत लामिछाने पनि सहभागी हुनुहुन्थ्यो । शिक्षक श्रेष्ठले मुनालगायतका यी पत्रपत्रिका विद्यार्थीका लागि अत्यन्तै उपयोगी भएकोले नियमितरूपमा पढ्न र सिर्जनात्मक क्रियाकलापमा अग्रसर हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली र पठन संस्कृतिका अभियन्ता तथा सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीले पाठ्यक्रमका किताब सँगसँगै अतिरिक्त किताब पनि पढ्न जरुरी रहेको बताउनु भयो ।
`अतिरिक्त किताब पढ्ने र अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीहरू , घरमा आमाबाबुलाई सघाउने विद्यार्थीहरू व्यवहारिक जीवनमा सधैं सफल र अब्बल हुन्छन्´, अभियन्ता सापकोटाले भन्नुभयो ।
दाहालले जन्मदिन कै सन्दर्भमा श्रीरामजानकी बालिका आश्रम देवघाटधाम र मानव सेवा आश्रम नारायणगढमा रहेका आश्रितलाई एक दिनको भोजन गराउनुभएको छ । लोककल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्रीरामजानकी बालिका आश्रम चितवन शाखाका संयोजक रहनु भएका दाहाल मानव सेवा आश्रम वार्षिक भोजन सेवाका आजीवन सदस्य समेत हुनुहुन्छ ।
वि. सं. २०८२ सालभित्र नेपाल राष्ट्रलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरि घोषणा गर्ने र घोषणा पश्चातको पूर्ण कार्यन्वयनको लागि समर्पित भएर देशको ७ प्रदेशका १९ जिल्लाका २४ वटा सेवाकेन्द्र मार्फत १८०३ जना सहयोगापेक्षी आमाबुबा दाजुभाई दिदी बहिनी र बाबुनानीहरु मानवसेवा आश्रमको संरक्षणमा हुनुहुन्छ ।सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुले कष्टकर जीवनयापन गरेकालाई यहाँ संरक्षण गरिएको छ ।
युवा व्यवसायी एवम् समाजसेवी दाहाल नारायणगढस्थित चितवन फ्लेक्स एन्ड डिजिटल सेवा, आरम्भ कलेज भरतपुर, मौलाकालिका अस्पताल भरतपुर, दर्शन हस्पिटालिटी भरतपुरलगायतका सञ्चालक हुनुहुन्छ ।