मकवानपुर, २० फागुन ।
स्वीस नागरिक भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक हेटौँडामा अनावरण गरिएको छ ।
मंगलबार बिहान टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगनसहित हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, निवर्तमान नगरप्रमुख हरिबहादुर महतले टोनी हेगनको अर्धकदको शालिक अनावरण गरे ।
हेटौँडामा मानव वस्तीको परिकल्पना गरेका हेगनको सम्मानमा हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० मा टोनी हेगन पार्क नै निर्माण गरेको छ । टोनी हेगन पार्कमै अर्धकदको शालिक निर्माण गरिएको हो । १ विगाहा ४ कठ्ठा साढे १७ धुर क्षेत्रफलमा टोनी हेगन पार्क निर्माण गरिएको छ । टोनी हेगनकी छोरी नेपाल आएको अवसर पारेर शालिक अनावरण गरिएको डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चका अध्यक्ष ईन्द्रप्रसाद नेपालले जानकारी दिए ।
हेगनको शालिक हेटौँडा १८ हर्नामाडीका लक्ष्मण भुजेलले निर्माण गरेका हुन् । ६ लाख रुपैयाँ लागतमा शालिक निर्माण गरिएको नेपालले बताए । उनका अनुसार टोनी हेगन पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको छ ।
पार्क निर्माणमा हेटौँडा उपमहानगरपालिका, हेटौंडा १० नम्बर वडा कार्यालय, बागमती प्रदेश सरकार मातहतका मन्त्रालयहरु, संघीय संसदको सांसद विकास कोष, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड, डिभिजन वन कार्यालयको आर्थिक सहयोग रहेको बताइएको छ ।