भरतपुर, २० फागुन ।
आसन्न स्ववियु निर्वाचनका लागि वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन आचारसंहिता विपरित संगठन दर्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । निर्वाचनको लागि संघसंगठन दर्ता गर्न सभापति, अध्यक्ष वा संयोजकको आधिकारिक लेटरप्याडमा हस्ताक्षर सहित बुझाउनुपर्छ । त्यसरी निवेदन दिने पदिय जिम्मेवारी बोकेका ब्यक्ति सम्बन्धित क्याम्पसका नियमित विद्यार्थी हुनुपर्ने प्रावधान छ । तर अनेरास्ववियुबाट क्याम्पसका विद्यार्थी नभएका व्यक्तिले निवेदन दिएर संगठन दर्ता गरेको भन्दै नेविसंघको ईकाइ समितिले विरोध गरेको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको सूचना विपरित शक्तिको आडमा गरिएको संगठन दर्ता मान्य नहुने नेविसंघको निष्कर्ष छ । ईकाइ अध्यक्ष कुमार जोशीले प्रेस विज्ञप्तीमार्फत स्ववियु निर्वाचनमा भाग लिन क्याम्पसको विद्यार्थी नै हुनुपर्ने न्युनत मापदण्ड समेत पालन नगरी दर्ता गरिनु निर्वाचन समितिको निर्वाचन नगर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
क्याम्पसमा रहेका संघसंगठनको पटक पटकको बैठकपछि गरिएको सहमति विपरित क्याम्पसको विद्यार्थी नै नभएको व्यक्तिबाट गरिएको संगठन दर्ता तत्काल खारेज गर्नुपर्ने नेविसंघको माग छ ।