चितवन, २० फागुन ।
चितवनमा पहिलोपटक घर बनाउने मेला हुने भएको छ । व्यवसायीहरुको समुह भी ग्रुप, निर्माण व्यवसायी एसवन विल्डर्ससको आयोजना तथा उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाको समन्वयमा आउँदो वैशाख २५ गतेदेखि २७ गतेसम्म नारायणगढमा हुन लागेको हो । घर बनाउन चाहिने आवश्यक सामग्री, मापदण्ड र सुरक्षा सम्बन्धी बिषयमा जानकारी गराउने उद्धेश्यसहित घर बनाउने मेला आयोजना गर्न लागिएको भीग्रुपका अध्यक्ष विपिन कँडेलले जानकारी दिनुभयो ।
‘चितवन ७८ औं जिल्ला पनि हो देशकै केन्द्र विन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पूर्ण जानकारी दिने उद्धेश्यसहित मेला आयोजना गर्न लागेका हौँ ।’ कँडेलले भन्नुभयो – `घर तथा भवन निर्माण गर्दा चाहिने सामग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरीदकर्ता र बिक्रेताबीच पनि भेट गराइने छ ।´
उहांँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी , विज्ञ, उपभोक्ता बीच परामर्श, अभिमुखीकरण, अन्तरक्रियालगायतका कार्यक्रम हुनेछन् । ‘हामीले उपभोक्तलाई घर तथा भवन बनाउन के कस्ता निकायहरुसंँग समन्वय र स्वीकृति लिनुपर्छ र कम लागतमा अधिकतम गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने उद्धेश्य पनि हो ।’ उहांँले भन्नुभयो ।
घर जग्गा कारोबार तथा निर्माण तथा निर्माण सामग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छातामुनी सबै प्रकारका सेवा तथा जानकारी उद्धेश्यले मेला आयोजना गर्न लागिएको एसवन बिल्डर्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो । ‘यो मेलाले एकत व्यवसायी र सेवाग्राही बीच प्रत्यक्ष भेटघाट गराउंँछ´ , न्यौपानेले भन्नुभयो – `अर्कोकुरा सेवाग्राहीले एकै ठाउंँमा सही जानकारी र सेवा पनि पाउनु हुनेछ ।’
उद्योग वाणिज्य संघ चितवनको परिषरमा हुने मेलामा घरजग्गा, निर्माण सामग्रीलगायतका गरी २५ वटा स्टल रहनेछन् । तीन दिनसम्म चल्ने मेलामा १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने न्यौपानेको भनाई छ । मेलाले निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता, सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने उहांँले बताउनु भयो । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।