भरतपुर, २० फागुन ।
चितवनमा छोरीहरु सामाजिक तथा सांस्कृतिक जोखिममा रहेको भन्दै जिल्लाका अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । आदर्श नारी विकास केन्द्रको अगुवाईमा सोमबार भरतपुरमा भएको छोरी शिक्षा, स्वास्थ्य, सुरक्षा, सांस्कृतिक चेतना कार्यक्रमको समीक्षा तथा आगामी कार्यदिशा सम्बन्धी छलफलमा सामाजिक अभियन्ता तथा अधिकारकर्मीले संस्थामार्फत उपयुक्त समयमा समय सान्दर्भिक अभियान शुरु भएको भन्दै यसलाई वृहत रुपमा लैजानुपर्ने बताए । उनीहरुले एकल तथा वैदेशिक रोजगारीमा बाहिर भएका आमाबाबुका छोरीहरु बढी मात्रामा सामाजिक तथा सांस्कृतिक जोखिममा रहेको भन्दै त्यसतर्फ सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्नेहरुले एकल तथा बैदेशिक रोजगारीमा गएका महिलाहरुका छोरीहरु थप जोखिममा रहेको बताए । जोखिममा भएका छोरीहरुलाई उद्धार गरी शिक्षा, स्वास्थय र सुरक्षा र सांस्कृतिक चेतना दिन जरुरी भएको आदर्श नारी विकास केन्द्रका संस्थापक एवं अधिकारकर्मी मीना खरेलले बताउनुभयो । छोरीमाथिको जोखिम न्युनीकरणका लागि सामाजिक सुरक्षा, नैतिक शिक्षा सम्बन्धी विशेष अभियान नै चलाएर समस्यामा रहेका छोरीहरुको संरक्षण गर्नका लागि आफूले व्यक्तिगत रुपमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि अभियानको सुरुआत गरेको अधिकारकर्मी खरेलले जानकारी दिनुभयो ।
सो अवसरमा अधिकारकर्मी संगीता भट्टराईले छोरीको सुरक्षाको पहिलो अभिभावक घरपरिवार भएको बताउँदै संस्कार हस्तान्तरणसँगै सुरक्षित वातावरण तयार गर्न परिवार नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीले बच्चाहरुको अधिकार संरक्षण भन्दै एकल रहन बाध्य महिलाहरुको पुनर्विवाह गर्न पाउने अधिकार खोसिन नहुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बच्चाहरुको रेखदेखको जिम्मेवारी आमाको मात्र नभई घरपरिवारका सबै सदस्यहरुको भएको स्पष्ट पार्नुभयो । जिल्लामा चलाउने अभियानमार्फत छात्रवृद्धि र राहत कोष सञ्चालन गरिनुपर्ने उहाँको सुझाव थियो ।
डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) चितवनका अध्यक्ष श्रीराम दवाडीले नागरिक शिक्षा र चेतनाका अभियानहरु वृहत रुपमा लैजानका लागि स्थानीय सरकारलाई अपनत्व लिन दबाब दिनुपर्ने बताउनुभयो ।
अधिवक्ता गोमा न्यौपानेले नैतिक शिक्षासँगै संस्कार हस्तान्तरणको अभियानलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । सम्बन्ध विच्छेद गरेर बाबुआमा बाट विछोडिएकाहरु एकल आमाका छोरीहरु विशेष जोखिममा रहेको उहाँको भनाई थियो ।
अभियन्ता विदुर केसीले विकृति विसंगतीविरुद्ध नीतिगत रुपमै दवाब दिन एकजुट हुनुपर्ने बताउनुभयो । पत्रकार तथा अभियन्ता शान्ता अधिकारीले छोरी शिक्षा, स्वास्थ्य र सुरक्षाको सवालमा स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
पत्रकार महासंघका उपाध्यक्ष शान्ता अधिकारीले पछिल्लो समयमा बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले समाज विकृतिउन्मुख गएकोतर्फ सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुहिक रुपमा कार्यक्रम गर्ने विषयमा समेत छलफल भएको थियो । दिवसका अवसरमा गरिने कार्यक्रममार्फत सामुहिक दवाब सिर्जना गरी अभियानलाई सशक्त बनाउन सबै एकमत भएका छन् ।