पोखरा, १९ फागुन ।
कवि तथा गीतकार श्रवण मुकारुङ गीत संगीतमा लाग्दा रेडियो नेपाल मात्रै थियो । त्यहाँ गीत रेकर्ड गर्न कम्तीमा ६ महिना कुर्नुपथ्र्याे । त्यो समयमा संगीतकार, गीतकार, गायक गायिकासँगै बसेर काम गर्थे । गीत रेकर्डका समयमा पनि सँगै रहन्थे । त्यसले सिर्जनालाई परिस्कृत गराउने अवसर मिल्थ्यो ।
‘त्यहाँ गीत रेकर्ड गर्न कम्तीमा ६ महिना कुर्नेपथ्र्याे । त्यो महिना हामी सर्जकका लागि काफी समय थियो । संगीतकार, गीतकार, गायक गायिकाबीच बसेर काम गर्ने,’ उनी सम्झिन्छन् । अहिले परिस्थिति फरक छ । उनले हाल आफूले लेखेका गीतमा कसले स्वर दिएको छ संगीत कसले भरेको छ भनेर थाहा पाउँदैनन् ।
उनले गीत बजारमा आएपछि मात्रै गायक र संगीतकारलाई चिन्ने अवसर पाउँछन् । पोखरा भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘संगीत, साहित्य र संगत’ सेसनमा गीतकार मुकारुङले भने, ‘मैरै जीवनमा मैले यस्तो भोग्न थालेँ । बजारमा गीत आइसकेको हुन्छ । ए यो त मैले लेखेको गीत हो । फलानाले गाएछ । फलानाले संगीत भरेछ भन्ने कुरा तब मात्र थाहा पाइन्छ ।’
सेसनमा गीतकार मुकारुङसहित कलाकार अभया सुब्बा र हर्क साउद संवाद गरेका थिए । उनीहरूलाई ब्यान्ड कन्दराका भोकलिष्ट विवेक श्रेष्ठले सहजीकरण गरेका थिए ।
गीतकार हर्क साउदले सृष्टिको हरेक वस्तुसँग हाम्रो संगत नजिक हुनुपर्ने बताए । ‘हाम्रो संगीत मान्छेसँग मात्रै होइन । प्रकृति, वस्तु, गाई, बाटो, माटो, सृष्टिको हरेक वस्तुसँग हाम्रो संगत यति नजिक हुनुपर्छ कि त्यसैलाई नै हामीले गीत बनाइदिन्छौं,’ उनले भने ।
जसले विगतका कुरालाई सम्मान गर्छ त्यो मान्छे लामो समयसम्म चल्ने कलाकर अभयाले बताइन् । उनी भन्छिन्, ‘जसले नयाँ नयाँ सिकेको छ । अहिले सिक्यो अहिले गर्छ । अनि भाइरल हुन्छ । एक हप्ता हुन्छ, दुई हप्ता हुन्छ । मै हुँ मै हुँ भन्ने पनि हुन्छ । जसले विगतलाई सम्मान गर्छ उहाँहरू चाहिँ लामो समयसम्म बस्छन् ।’
पुरानाको ज्ञान नभइको नयाँ बन्न नसक्ने गीतकार मुकारुङ जिकीर गर्छन् । उनी भन्छन्, ‘पुरानाहरूलाई थाहा पाएपछि मात्रै नयाँ गर्न सक्ने हो । अहिलेको नयाँहरूको समस्या के हो भन्दाखेरि उ नयाँ हुन खोजिरहेको छ । उ भ्रममा पनि छ । नयाँ हुनका लागि पुरानाको ज्ञान आवश्यक हुन्छ ।’
गीतकार साउदले संगीत र साहित्यमा संगत एकदमै आवश्यक हुने सुनाए । उनले भने, ‘गीत बन्नका लागि होस् या साहित्य बन्नका लागि संगत एकदमै जरुरी छ । संगत नभएको भए सायद म हजुरहरूको अगाडि हुने थिएन होला ।’
गीत संगीतमा पुराना कुराहरूलाई आदर गर्नु आवश्यक रहेको अभया बताउँछिन् । ‘बीचमा बसेर आफ्नो पुरानो चिज के छ त्यसलाई पनि आदर गर्नुपर्ने एकदमै आवश्यक छ । उहाँहरू नै जो हुन्छ । जसले पहिलाका कुराहरू सुन्या छ । त्यसलाई आदर गरेको छ । उहाँहरू चाहिँ रहिरहने रैछ,’ उनले भनिन् ।
संगीतमा जति सहकार्य गर्यो, त्यति नै सुन्दर हुने मुकारुङले सुनाए । ‘सहकार्यबाट निर्माण हुने हो नी सिर्जना । जति सहकार्य गर्यो । त्यति त्यो सुन्दर हुने हो,’ उनले भने ।
बोल्न र लेख्न स्वतन्त्र भएको गीतकार साउदले बताए । उनले भने, ‘म के गरिरहेको छु । मैले गरेको कामले मेरो समाज र संसारमा मैले के सन्देश दिन्छु भन्ने विर्सन हुँदैन ।’