चितवन, १८ फागुन ।
दिवंगत शिक्षक, पत्रकार एवं कलाकार भुपराज पाठकको १२औँ दिनको पुण्य तिथिमा आयोजित रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका छन् ।
पाठक निवास, माडी-४, सिम्रहनीमा आइतबार सम्पन्न रक्तदानमा ७९ पुरुष र ३१ महिलाले रक्तदान गरेका हुन् । सोमध्ये नयाँ वा पहिलोपटक रक्तदान गरेकाहरुको संख्या ३६ र दोहोरिएका (पुराना) रक्तदाताको संख्या ७४ रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति रामबन्धु पोख्रेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य र माडी ४ का वडाध्यक्ष माधव चापागाईंको विशिष्ट आतिथ्य रहेको थियो ।
रेडक्रस बघौडा उपशाखासँगै ब्लड डोनर्स सोसाइटी नेपाल माडी नगर कमिटी र पाठक परिवारको संयुक्त आयोजनामा सो खुल्ला रक्तदान कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमका सन्दर्भमा दिवंगत पाठकप्रति मौनधारण गर्नुका साथै भुपराज पाठक स्मृति प्रतिष्ठान नामको परोपकारी संस्था गठनको निर्णय समेत भएको थियो ।