मकवानपुर, १७ फागुन ।
साहित्यकार माया ठकुरी हेटौंडामा सम्मानित भएकी छिन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८१ बाट काठमाडौंका साहित्यकार ठकुरीलाई सम्मान गरेकाे छ । २५ हजार रुपैयाँ राशिकाे पुरस्कारबाट ठकुरी शनिबार सम्मानित भएकी हुन् ।
प्रतिष्ठानले शनिबार ठकुरीसहित एकै मञ्चमा ११ जना व्यक्तित्वलाई सम्मान गरेकाे छ । भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८१ बाट गायक हेमन्त शर्मा (रुपन्देही) सम्मानित भएका छन् भने भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८१ कलाकार भोलाराज सापकोटा (मकवानपुर) लाई प्रदान गरिएकाे छ । भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८१ पत्रकार ठाकुर बेल्वासे (काठमाडौं) लाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारहरुकाे राशि जनही २५/२५ हजार रुपैयाँ रहेकाे छ ।
वरिष्ठ कलासाधक भीम विराग सक्रिय रहेकाे साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटै क्षेत्रलाई समेटेर हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले उल्लेखित पुरस्कार गत वर्ष स्थापना गरेको हाे । यस वर्षबाट प्रतिष्ठान उक्त पुरस्कार प्रदान गरेको हाे । यस्तै प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई प्रदान गर्दै आइरहेका विभिन्न ७ वटा पुरस्कार तथा सम्मान समेत शनिबार प्रदान गरेकाे छ ।
तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कार, २०८१ बाट महिला उद्यमी शोभा श्रेष्ठ (मकवानपुर) सम्मानित भएकी छिन् । समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ । यसैगरी भीम–मथुरा बाल प्रतिभा पुरस्कार, २०८१ विद्यार्थी रितिका छत्कुली (मकवानपुर) लाई प्रदान गरिएकाे छ । विन्दुगोपाल गोर्खालीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैयाँ रहेकाे छ ।
यसैगरी शिला नारी पुरस्कार- २०८१ बाट महिला उद्यमी मेनका श्रेष्ठ (मकवानपुर) सम्मानित भएकी छिन् । आशीष श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ । यस्तै रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८१ बाट लाेक दोहाेरी गायक कुलेन्द्र विश्वकर्मा (पर्वत) सम्मानित भएका छन् । चुनु बानियाँले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि २० हजार रुपैयाँ रहेकाे छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८१ बाट साहित्यकार दीपक गौतम (मकवानपुर) सम्मानित भएका छन् । रामबहादुर पाख्रिनले स्थापना परेकाे उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ ।
मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८१ बाट स्वास्थ्यकर्मी निर्मला ब्लोन (मकवानपुर) सम्मानित भएकी छिन् । देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैयाँ रहेकाे छ । अजित सेन- कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार, २०८१ बाट दृष्टीविहीन मेकानिक सुदर्शन ढकाल (मकवानपुर) सम्मानित भएका छन् । रोशन सेन गुप्ता स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैयाँ रहेकाे छ ।
सम्मानित व्यक्तित्वहरुलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, हेटौंडा- ४ का वडाध्यक्ष नवीन सिग्देल, प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजले तथा पुरस्कार संस्थापकहरुले नगर पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार तथा सम्मान कार्यक्रमकै दिन शनिबार प्रतिष्ठानको कोष वृद्धिको उद्देश्यले गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति सहितको साङ्गीतिक कार्यक्रम समेत आयोजना गरिएकाे थियाे ।