मकवानपुर, १६ फागुन ।
झरना साहित्यिक परिवार मकवानपुरको ३२ औँ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृङ्खलाका अवसरमा बकैया गाउँपालिका- ५ कर्मचुली स्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा शुक्रबारबाट बकैया कला साहित्य महोत्सव सुरु भएको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख अतिथ्य तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कपिल लामिछानेको विशिष्ट अतिथ्यमा सुरु भएको कार्यक्रममा बकैया वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ६ का वडा अध्यक्ष फूलमान भाेम्जन, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी तथा लोकेन्द्र माझी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
शुक्रबारका विशेष कार्यक्रमहरूमा बकैयाका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू समावेश भएका थिए ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले झरना साहित्यिक परिवारलाई आफूहरूले सधैँ नजिकबाट हेरिरहेको र यसको उन्नति-प्रगति चाहेको भनाइ राख्नुभएको थियो । यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. कपिल लामिछानेले आजको कार्यक्रम उत्साहजनक भएको र यसबाट आफू धेरै प्रभावित भएको भनाइ राख्नुभएको थियो ।
दुई दिन सञ्चालन हुने बकैया कला साहित्य महोत्सव अन्तर्गत शनिबार स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तर्क्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।
२०७६ सालबाट सुरु भएको महोत्सवको यो छैठौँ श्रृङ्खला हो । झरना साहित्यिक परिवार मकवानपुरले अहिलेसम्म पाँचवटा बकैया कला साहित्य महाेत्सव, ३१२ वटा साहित्य शृङ्खला, ४३ औँ झरना साहित्यिक अर्धवार्षिक पत्रिका प्रकाशन, ८० वटा भन्दा बढि विद्यालयहरूमा काव्य प्रशिक्षण, १०० भन्दा बढि मूर्धन्य साहित्यकारहरूलाई सम्मानित गरिसकेको छ । हाल संस्थाको २ कठ्ठा आफ्नै जग्गा छ भने भवन निर्माणकाे प्रक्रियामा छ ।