पोखरा, १६ फागुन ।
समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्त्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्त्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय दिनु आवश्यक छ । उनीहरूको अगाडि जति नै चुनौतीका चाङ आएपनि साथमा आमाबाबा छन् भन्ने अनुभूति दिलाउनु आवश्यक छ ।
‘एउटा बच्चालाई आमाले जन्म दिएपछि उसलाई सही बाटोमा हिँडाउन बुबाको पनि जिम्मेवारी हुन्छ, नभए उनीहरू गलत बाटोमा जान सक्छन् ।’ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिट्रेचर फेस्टिभलमा बोल्दै प्याब्सन कास्कीका अध्यक्ष दिवाकर जैसीले भने । फेस्टिभल अन्तर्गत दोस्रो सेसनमा अलिमिया कक्षमा ‘घरः पहिलो विश्वविद्यालय’ शीर्षकमा छलफल भएको थियो ।
यो सेसनमा जैसी सहित हसिना बस्नेत र सहजकर्ताका रुपमा रेशम गिरी उपस्थित थिए । जहाँ हरेक बालबालिकाको लागि पहिलो शिक्षालय आफ्नो घर भएको विषयमा छलफल भयो । अहिले पनि प्रायः विद्यालयमा बालबालिकालाई औपचारिक शिक्षामा बढी ध्यान दिइन्छ । तर यो विषयमा जैसीको बुझाइ फरक छ । ‘विद्यालयमा शिक्षा प्रदान गरिरहँदा औपचारिक शिक्षामा बढी ध्यान दिनु शिक्षकको बाध्यता हो, किनकि त्यहाँ हरेक कक्षामा भएका पुस्तकलाई ध्यान दिनुपर्ने हुन्छ ।’ उनी भन्छन्, ‘हुन त शिक्षालाई डिग्रीमा नाप्न सकिँदैन । त्यसैले विद्यालयमा व्यवहारिकभन्दा औपचारिक शिक्षामा ध्यान दिनुपर्छ भन्ने मेरो बुझाइ हो ।’
यता हसिना बस्नेतलाई लाग्छ – बालबालिकालाई घरमा सिकाउने प्रक्रिया धेरै छन् । आमाको भूमिकाका विषयमा त बयान गर्ने शब्दै छैन । पहिले परिवारका सदस्य, समाजबाट बालबालिकाले धेरै जानकारी पाउँथे, अहिले परिवर्तित समयमा मोबाइलबाट उनीहरुले सिकिरहेका हुन्छन् । ‘अहिले कुनै घर एउटा घरका रुपमा मात्रै सीमित रहेन, मोबाइल भएको छ । उनीहरूले प्रविधिको माध्यमबाट विश्व बुझ्ने मौका पाए ।’
बालबालिकाको उमेर बढ्दै जाँदा सिक्ने दायरा बढ्दै जान्छ भन्ने हसिनालाई लाग्छ । ‘टिनएजमा पुगिसकेपछि आमाबाबाले भनेको हो कि होइन जस्तो गर्छन् । वर्षौंदेखि गर्दै आइरहेको कुरालाई हो कि होइन जस्तै गर्छन् । आमाबाबाको कुरा नमानेका हुन् कि जस्तो लाग्छ ।’ उनी भन्छिन्, ‘उनीहरु के कुरामा खुसी हुन सक्छन् भन्ने कुरामा ध्यान दिँदै रुचि अनुसार काम गर्नु आवश्यक छ ।’
अहिले आ–आफ्नै बाध्यता र परिस्थिति छ, कतिपय बालबालिका आफ्नो अभिभावकभन्दा टाढा बस्नुपर्ने बाध्यता छ । यसैले होला आमाबाबा आफ्नो सन्तानका लागि आइडल बन्न नसकेका हुन् कि भने जस्तो धेरैले सोच्न थालेका छन् । यही विषयमा सहजकर्ता रमेश गिरीको प्रश्नको उत्तर दिँदै अध्यक्ष जैसीले भने, ‘केही बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा छन्, नेपालमै भएपनि जागिरले गर्दा छोराछोरीलाई समय दिन पाउँदैनन् । एकदिन बिदा भएपनि आफ्नै कामको लागि घरबाट निस्कन्छन् ।’ जैसीले भने, ‘विविध कारणले बालबालिकाको रुचि अनुसार समय दिन नपाउँदा अहिलेका अभिभावक सन्तानका लागि आइडल बन्न सकिरहेका छैनन् ।’
जैसीलाई हरेक बालबालिकाको लागि आमाबाबा शिक्षा, व्यवस्थापक, साथी सबै हुन् भन्ने लाग्छ । समय व्यवस्थापन गरेर उनीहरूकै रुचि अनुसार अगाडि बढ्न सक्नुपर्छ । विगत लामो समयदेखि अध्यापन पेसामा संलग्न रहेका जैसीले बुझेका छन्, बालबालिकालाई डरत्रास देखाएर पढाउन सकिँदैन, उनीहरूको रुचि र मनोभावलाई भित्री तहबाट अध्ययन गर्न सक्नुपर्छ । ‘असल नागरिक बनाउने बालबालिकाको मनोभावना बुझ्नुपर्छ, वातावरण त्यस्तै निर्माण गर्नुपर्छ ।’
पहिले अभिभावकले आ–आफ्नो सन्तानलाई समय दिन्थे । बाबाले नभएपनि आमाले बालबालिकालाई पूरै समय व्यतित गर्थिन् । तर समयको परिर्वतन र आत्मनिर्भर हुनुपर्छ भन्ने सोच वृद्धि हुँदै गर्दा महिलाले घर बाहिर गएर काम गर्न थालेका छन् । घरबाट काममा जाँदा बालबालिका सुतिरहेका हुन्छन्, घर आउँदा सुतिसकेका हुन्छन् । घरमा कोही मान्छे आएमा बालबालिकालाई छुट्टै राख्ने नेपालको संस्कार छ । कहीं कतै गए पनि लिएर जाँदैनन्, त्यसैले बालबालिका एकलकाटे हुँदै जान्छन् ।
हसिना भन्छिन्, ‘सकेसम्म उनीहरुलाई बाहिर जाँदा सँगै लिएर जाने गरौं । घरमा आएका आफन्तको कुरा सुन्न दिऔं । उनीहरुलाई खुल्न दिनुपर्छ ।’ पुराना संस्कार, संस्कृति, चालचलन अहिलेका बालबालिकाले भुल्दै गइरहेको अवस्थामा उनीहरुलाई सिकाउनु आवश्यक रहेकोमा हसिनाको जोड छ । घरबाट मात्रै नसिक्ने भएकाले बालबालिकाको भावना र रुचिलाई उजागर गरेर अगाडि बढ्नुपर्ने हसिनाको बुझाई छ । घरमा हुने झै–झगडा, कलहबाट बालबालिकालाई टाढै राख्न उनको सुझाव छ । ‘सबैको दृष्टिकोण, चाहना, रुचि फरक हुन्छ । आमाबाबाको झगडा बालबालिकालाई नदेखाउँ ।’
अध्यक्ष जैसीलाई लाग्छ, बालबालिका आफैँमा सिँगो विश्वविद्यालय हुन्, फरक यत्ति हो, उनीहरुको रुचि र चाहनाका माध्यमबाट शिक्षण प्रणालीलाई परिर्वतन गर्न ढिलाई भयो । ‘शिक्षक, अभिभावकको भन्दा बालबालिकाको रुचिलाई ध्यानमा राखेर त्यसैलाई मलजल गर्न सक्नुपर्छ, पठनमा भोक जगाइदिनुपर्छ ।’ उनी भन्छन् । अहिलेका प्राय अभिभावकको गुनासो हुन्छ, बाध्यताले सन्तानलाई समय दिन सकिएन । तर जैसी भने समय व्यवस्थापन गर्न सक्नु चुनौतीपूर्ण रहेपनि असम्भव भने नहुने उनको बुझाई छ । सन्तानलाई समय दिन सकिए, धेरै जस्तो समस्याको समाधान घरभित्रै गर्न सकिने उनले बताए । ‘जस्तै ठूला र व्यस्त हुने व्यक्तिको लागि भएपनि समय हुने २४ घण्टा नै हो, हामीले अहिले छोराछोरीको लागि समय व्यवस्थापन गर्न सकनौंं, यो दुखद कुरा हो ।’ उनी भन्छन् ।
आमा र शिक्षक हुनुमा हसिनालाई भावनात्मक आधारमा आमा हुनु कठिन लाग्छ, तर दायित्व भने दुवै तर्फ एकै हुने उनी बुझ्छिन् । ‘प्रकृति अनुसार आमा बनिसकेपछि सन्तानको मामिलामा भावुक बनिन्छ ।’ उनी भन्छिन्, ‘विद्यार्थीलाई बालमैत्री वातावरणमा, उनीहरुको भावना बुझेर शिक्षण गराउनुपर्छ । भूमिका उत्तिकै हो, तर आमा भएको नाताले सन्तानसँग भावनात्मक रुपमा नजिक भइन्छ ।’ विद्यालयमा हुने परीक्षामा आउने अंकका आधारमा शिक्षामा तौलन नहुनेमा हसिना जोड दिन्छिन् । कहिलेकाहीँ बालबालिकालाई केही कम अंक आएपनि पछि राम्रो गरौला, अहिले ठीकै छ भन्ने सिकाउनुपर्ने उनको बुझाई छ । बालबालिकालाई अन्यसंग तुलना गरिदिँदा भावनात्मक रुपमा असर पर्ने उनी बताउँछिन् । ‘कतिपय अभिभावक यस्ता छन्, जसले आफ्नो छोराछोरीले कम नम्बर ल्याएको छ भने शिक्षकसँग रिसाउँछन् ।’ सेसनमा हसिनाले भनिन्, ‘बालबालिकालाई आफूले अहिले राम्रा अंक ल्याउन नसके पनि पछि राम्रो गर्न सकिन्छ भन्दै हौसला दिनु आवश्यक छ ।’