धादिङ, १६ फागुन ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ ।
शुक्रबार धादिङबेसीमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सवको उद्घाटन गर्दै देवकोटाले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै मानव मानवबीचका द्वन्द्वहरु घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्वपूर्ण विधा भएको बताउनुभएको छ ।
साहित्य मानव मस्तिष्कको उपजको रुपमा उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले साहित्य लेखनमात्र नभएर भावना, संवेदनासमेत भएको बताउनुभयो । साहित्यले कला, संस्कृति, मूल्य, मान्यता र सभ्यतालाई छर्लङ्ग पार्ने उहाँको भनाइ छ ।
कला र साहित्य मौन रहेर होईन, बोलचाल र प्रस्तुतिमा हुनुपर्ने बताउँदै इतिहासका कालखण्डमा साहित्यको योगदानलाई बिर्सन नहुने स्पष्ट पार्नुभयो ।
राणाबिरोधी आन्दोलन, पञ्चायतबिरोधी होस् वा निरंकुशता बिरुद्धका आन्दोलनहरुमा साहित्यिक कलमले चेतना, जागरुकता र आन्दोलनको आँधीबेहरी सृजना गरेको समेत स्मरण गराउनुभएको छ ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजक भइ स्थानीय स्तरमा सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमति प्रदेश स्तरीय साहित्य महोत्सवको शुक्रबार धादिङबेसीमा उद्घाटन गरिएको हो ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघीयसरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्रि रामनाथ अधिकारीले शुभकामना व्यक्त गर्दै साहित्यले सम्राटहरुलाई समेत नाङ्गो पार्ने शक्ति हुने भएकोले सहत्यको संरक्षण र प्रवर्धनमा सघाउने बताउनुभयो ।
बागमति प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दाहाल, नीलकण्ठ बालमन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष दीपक कोइराला, महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यलगायतले भाषा, साहित्य कला, संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले विधागत रुपमा सघाउनु पर्ने र स्थानीय सरकारले समेत लगानी गरेर पठन र अध्यायन संस्कृतिको विकासमा योगदान गर्नुपर्ने बताउनुभएको छ ।
धादिङबेसी पुछारबजारबाट तामाङ, नेवारलगायतका सांस्कृतिक झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।